अहिलेकै डेलिगेट्स सूचीको आधारमा एनआरएनको निर्वाचन हुन सक्दैन: सल्लाहकार पण्डित

Getting your Trinity Audio player ready...
|
लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितले संघको सचिवालयले प्रकाशित गरेको डेलिगेट्स (महाधिवेशन प्रतिनिधि) सूचीको आधारमा निर्वाचन हुन नसक्ने जनाएका छन् ।
सहमतिका आधारमा समस्या समाधान गरी नेतृत्व चयन गर्न गठित उच्चस्तरीय समितिका संयोजक पनि रहेका पण्डितले सचिवालयले प्रकाशित गरेको डेलिगेट्स सूचीमा थुप्रै अनियमितताहरु भएको भन्दै उजुरी परेको र ती सबै उजुरीहरुबारे अध्ययन गर्न समितिलाई थप समय चाहिने उनले बताए ।
‘कतिपय देशमा वार्षिक साधारणसभा भई सकेपछि पनि नयाँ सदस्य बनाइ त्यसैको आधारमा डेलिगेट्स संख्या थप गरिएको भन्ने उजुरीहरु छन् भने कतिपय देशमा सदस्य नै नबनाई यति सदस्य बन्छन् भनि अन्दाजी र फर्जी नाम दर्ता गरिएको र पछि ती नाम हटाएर अरु नाम थप गरीएको भन्ने जस्ता उजुरी परेको छ । तर यस्ता गम्भीर विषयमा हामीले छानविन र क्रस भेरिफिकेशन नै गर्न पाएका छैनौं,’ पण्डितले भने ।
संरक्षक परिषद् र अध्यक्ष कुमार पन्तले सहकार्य गरी अहिलेको विवाद समाधान गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । ‘त्यसको लागि उपयुक्त वातावरण तयार गर्न हामी लागि रहेका छौं,’ पण्डितले भने ।
गत अक्टोबर महिनामा तोकिएको संघको दशौँ महाधिवेशन तथा निर्वाचन अनिश्चितकाल सम्मका लागि स्थगित गरिएको छ ।