राप्रपासँग विवेकशील साझाको एकीकरण पहल सुरु
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)र विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरु गरिएको छ । राप्रपाले राजसंस्थाको वकालत गर्दै आएको थियो भने विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पनि राजसंस्था प्रति नरम भएका कारण सो पार्टी विभाजन भइसकेको थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष मिश्र बीच शुक्रवार भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको जनाइएको छ । लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ ।
यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा साझा पार्टीका अध्यक्ष मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।एकताको पहल सुरु भएको दुवै पक्षले स्वीकार गरेका छन् ।
विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि नयाँ दस्ताबेज सार्वजनिक गरेका थिए । उक्त दस्ताबेजमा सङ्घीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रह गर्नुपर्ने छन् । यसै कारण विवेकशील साझामा विभाजन आएको थियो । विवेकशील साझाको राजनीतिक अनुभव र छोटो समयको यात्रा भने अचम्मको छ । गत स्थानीय निर्वाचनको केही समय अगाडि पत्रकारिता पेसा छाडेर मिश्र राजनीतिमा प्रवेश गरेका थिए ।
उनकै नेतृत्वमा साझा पार्टी स्थापना भएको थियो । गत स्थानीय निर्वाचनमा वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील दल र साझा पार्टीले काठमाडौँ लगायत स्थानमा सम्मानजनक मत ल्याए पछि यी दुई दलको एकीकरण गर्नु पर्ने आवाज समर्थकबाटै उठेको थियो । परन्तु, यी दलका बिचमा थुप्रै भिन्नता थिए ।
अभिजात वर्गको प्रतिनिधित्व गर्ने र कुनै पेसाबाट रिटायर्ड हुनेहरूको दलको रूपमा साझा पार्टी स्थापित थियो । यस्तै २०७२ को भूकम्प पछि समाजसेवामा सक्रिय भएका युवाहरूले विवेकशील दलको स्थापना गरेका थिए । विवेकशीलमा परिवर्तनको सोच भएका युवा जोस बढी थियो भने साझामा पेसागत सफलता पछि राजनीतिमा फड्को मार्ने चाहना बढी थियो ।
नेपालका मूलधारका पार्टीको गलत शैलीका कारण यो नमिल्दो शैलीका बिच भएको विवेकशील र साझाको एकतालाई वैकल्पिक राजनीतिको चाहना राख्ने मतदाताले स्वीकार गरेका थिए । यस पार्टीको जिल्ला तहमा सङ्गठन बढ्दै गए पछि भने उनीहरु बीचमा नै विवाद बढ्यो र अन्तत पार्टी नै विभाजन भयो ।
२०७७ मा फेरी एकता भएको यो पार्टीले अहिले मिश्रको विरुद्धमा फरक मत दर्ता गरेको मिलन पाण्डेलाई कारबाही गरी सकेको छ । साथै रञ्जु दर्शनाले दल त्यागी सकेकी छिन् । सुबुना बस्नेत राजनीतिबाट टाढा रहेकी छिन् भने वैचारिक व्यक्तित्व गोविन्द नारायण राजनीतिबाट टाढा छन् ।
विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । मिश्रको पछिल्लो कदमले परिवर्तन चाहने युवाहरूको जमातको सपनालाई तहसनहस पार्न तल्लीन अभिजात वर्गको प्रतिनिधि पात्र मात्र भएको आरोपलाई घटनाक्रमले पुष्टि गर्दै आएको छ । गत वर्ष कोभिडको कारण देशमा सरकारको भूमिका शून्य थियो भने देश प्रतिपक्षी पार्टी रहित झैँ थियो ।
सोही समयमा विवेकशील नेता पुकार बमले चालेको ‘ इनफ इज इनफ ’ आन्दोलनले सरकारलाई धेरै कुरामा घुँडा टेकाएर जन पक्षीय निर्णय गर्न बाध्य पारेको थियो । परिवर्तनको चाहना राख्ने युवाहरूको सपनालाई प्रयोग गर्दै मिश्रले चालेको कदम छरपस्ट भएको छ । गोविन्द नारायण, मिलन पाण्डे, दिवङ्गत उज्ज्वल थापा, रञ्जु दर्शना,सुबुुना बस्नेत र पुकार बम जस्ता उत्साही युवाको ‘ परिवर्तन हाम्रै कालमा सम्भव छ ’ त्यो पनि युद्ध विना भन्ने आवाजले निरन्तरता पाउँछ ? या पाउँदैन भन्ने प्रश्न त अहिलेको राजनीतिमा उठेकै छ ।
भ्रस्टाचार, नातावाद, कृपावाद, र विधि रहित शासन भएको वर्तमान मूलधारको राजनीतिले दिएको यातनालाई स्वीकार गर्न नसक्नेका लागि शान्तिपूर्ण विकल्प तयार हुन्छ ? या हुँदैन ? भन्ने प्रश्न समेत उठेको छ । मिश्रले युवाको सपनालाई कुल्चँदै चालेको कदमले यो खराब अवस्था निम्त्याएको छ ।















