कांग्रेसको वरीयतामा सुनिल थापा भन्दा शेखर कोइराला पछि
काठमाडौँ/ नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको वरीयतासहितको सूची सार्वजनिक गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।महामन्त्री गगन थापा चौथोमा छन् भने विश्वप्रकाश शर्मा पाँचौँ वरीयतामा छन् ।
उनीहरूपछि सह महामन्त्रीहरूको वरियता रहेको छ । सह महामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्व उपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी चौधौँ वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा.शशाङ्क कोइराला १५ औँ वरीयतामा रहेका छन् ।सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २०औँ वरियतामा रहेका छन् । उनीभन्दा अगाडि सभापति, पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन् ।
निवर्तमान सह महामन्त्री सुनिलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ । केन्द्रीय समितिमा थारु महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५ औँ वरीयतामा रहेकी छिन् ।










