एनआरएनए विवाद समाधानका लागि अध्यक्ष पन्तद्वारा कमिटि गठन,उपाध्यक्षको विरोध

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय समिति आइसीसीका अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि चार सदस्यीय कमिटि गठन गरेका छन् ।
डिसेम्बर १५ तारिकको मिति राखेर अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विवधान समाधानका लागि आफुले छलफल जारी राखेको पनि बताएका छन् ।
उनले सबै पक्ष सँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यी समिति गठन गरिएको जनाएका छन् । समितिमा संघका केन्द्रीय सल्लाहाकार विश्व आदर्श पण्डित,डा.यादव पण्डित, सचिव गौरि जोशी र प्रवक्ता डि वि क्षेत्रि रहेका छन् ।
समितिलाई के कस्तो अधिकार दिइएको छ र समितिले कहिले सम्म समाधानका उपाय निकाल्ने भन्ने पत्रमा उल्लेख छैन । एनआरएनएले आइसीसीको निर्वाचन अर्को साता गर्ने तय गरेको छ । तर मतदाता नामावलि अझै टुङ्गिएको छैन ।
समिति गठनमा उपाध्यक्षको आपत्ति
यसै बीच अध्यक्ष पन्तद्वारा गठित समिति अमान्य हुने उपाध्यक्ष सोनाम लामाले बताएका छन् । समाज टाइम्स सँगको कुराकानीमा उपाध्यक्ष लामाले अध्यक्ष पन्तको पत्र बारे आफुलाई कुनै जानकारी नभएको बताए ।
‘अध्यक्षलाई यसरी एकलौटी पत्र पठाउने अधिकार नै छैन्, कार्यसमितिको जानकारी विना भएको यो काम मान्य हुदैन ।’ लामाले संरक्षक सँग सल्लाह गरेर कमिटि गठन गरिएको भन्ने कुरा झुट्टा भएको बताए । ‘मैले संरक्षक शेष घले सँग पनि भर्खरै कुरा गरे तर उहाँले पनि केही जानकारी छैन भन्नु भएको छ ।’ लामाले अध्यक्ष कुमार पन्त एक पछि अर्को गर्दै आफु खुसी र एकलौटी काममा लागेको तर त्यो मान्य नहुने बताए । ‘सबै काम विधि र विधान अनुसार गर्नु पर्छ, एक जना कुमार पन्तको निर्णयले संस्था चल्दैन ।’ लामाले यस अगाडि नै संघमा एकलौटी रुपमा काम नगर्न अपिल गरेका छन् ।
एनआरएनए विवाद : कुमार पन्तलाई सोनाम लामको सुझाव,’संघको इतिहासमा असफल अध्यक्ष हुनबाट जोगिनुहोस’