एनआरएनए विवादमा नयाँ ट्वीस : निर्वाचन समितिका प्रमुख सहित बहुमत सदस्यद्वारा राजिनामा

अमेरिका : विवादको दलदलमा फसेको गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रीय समन्वय परिषद् (आइसीसी) मा नयाँ ट्वीस आएको छ ।
आइसीसी निर्वाचन समितिका प्रमुख लिलामणी पौडेल सहित बहुमत सदस्यले शुक्रवार पदबाट राजिनामा दिएका छन् ।
एउटा पक्षको असहमितका बाबजुत पनि निर्वाचन प्रक्रिया शुरु हुदै गर्दा अनावश्यक दवाव आएकोले समितिका प्रमुख सहित सदस्यले राजिनामा दिएको जनाएका छन् । एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्तले विधान विपरित कार्य गर्न दिएको दवावा पनि राजिनामाको कारण बताइएको छ ।
सात जनाको समितिमा पौडेल सहित चिरिञ्जिवी ढकाल, गणेश गुरुङ र देवकाजी डंगोलले राजिनामा दिएका हुन् । अब समितिमा भुषण घिमिरे, बिष्णुमाया परियार र रामप्रताप थापा बाँकी छ ।
एनआरएनएको सस्थापन पक्ष डिसेम्बर २६ र २७ निर्वाचन गराउने तयारीमा छ । तर निर्वाचन समितका बुहमत सदस्यको राजिमानाका कारण निर्वाचन फेरि अन्यौलमा पुगेका छ । एनआरएनएको विधानमा निर्वाचन भन्दा तीन महिना अगाडि नै निर्वाचन कमिटी गठन गर्नु पर्ने व्यवस्था छ ।
तर एनआरएनए आसीसीका अध्यक्ष कुमार पन्तले फेरि विधान विपरित काम गरेको आरोप खेपेका छन् । ‘प्रमुख निर्वाचन आयुक्त पौडेलले व्यक्तिगत कारण देखाउदै दिएको राजिनामा स्वीकृत गरि अर्को सुचना जारी नभए सम्मका लागि संरक्षक रामप्रताप थापालाई कार्यवहाक प्रमुख निर्वाचन आयुक्त तोकिएको छ ।’ भन्दै पन्तले आन्तरिक नोट जारी गरेका छन् । साथै पन्तले थापाको समितिले निर्वाचन प्रक्रियालाई जारी राख्ने पनि भनेका छन् । विधानत निर्वाचन कमिति तोक्ने अधिकार अध्यक्षलाई छैन । कार्यसमितको बैठक बिनै पन्तले एकलौटि निर्णय गरेको सस्थापन इतरका पक्षले आरोप लगाएको छ ।
एनआरएनए आइसीसीमा महासचिवको दावेदारी गर्दै आएका डाक्टर केशव पौडेलले सस्थापन पक्ष विधान विपरित गएको दावी गरे । ‘निर्वाचन समिति निर्वाचन हुनु भन्दा तिन महिना अगाडि गठन गर्नु पर्ने विधानमा व्यवस्था छ, अर्को तर्फ कुनै पनि निर्णय गर्दा कार्य समिति बैठक बस्नु पर्ने हो तर त्यसो भएन ।’ पौडेलले भने ।
निर्वाचन कार्यतालिका परिवर्तन
यसै बीच एनआरएनएले महाधिवेशन प्रतिनिधहरुको अन्तिम नामावाली प्रकाशित गर्ने मिति परिवर्तन गरेको छ । एनआरएनएको आधिकारीक वेव साइडमा सुचना निकालेर प्रतिनिधिहरुको नामावली प्रकाशन मिति परिवर्तन गरिएको हो ।
यस अगाडि निर्वाचन समितिले १० तारिकमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको थियो । तर नयाँ सुचनामा ‘गैरआवासीय नेपाली संघका महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकाले उमेदवारी मनोनयन दर्ताको समय १६ डिसेम्बर २०२१ को बिहानको १०:०० बजेबाट १७ डिसेम्बर २०२१ को बिहानको १०:०० बजेसम्म कायम गरिएको सुचित गरिन्छ ।’
निर्वाचन समितिले यस अगाडि ११ तारिकका दिन उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम राखेको थियो । डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको थियो ।
विवाद समाधान नभइ यथास्थितिमा हुने निर्वाचनमा भाग नलिने अशन्तुष्ट पक्षले बताउदै आएको छ । तर सस्थापन पक्ष जसरी पनि पेलेर जाने मुडमा देखिएको छ ।
प्रतिनीधि छनौटको विवादको विषयलाई लिएर उजुरी परे पछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएनए आइसीसीलाई निर्वाचन सम्वन्धी कुनै पनि काम गर्न रोक लगाएको थियो । साथै परराष्ट्रले एनआरएनए संरक्षक परिषद्लाई आइसीसीको अवरुद्द निर्वाचन गर्न भनेको थियो । परराष्ट्रको सो निर्देशन विरुद्द एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त अदालत पुगेका थिए । अदालतले परराष्ट्रको पत्र कार्यन्वयन नगर्नु भन्ने आदेश दिए पछि आइसीसीले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो । तर अब घटना झन नयाँ मोडमा पुगेका छ ।