विश्वमा नेपाल चिनाउने पुस्तक: ‘जंगबहादुर इन युरोप’
सुरेश सुवेदी
जंगबहादुर राणाको सन् १८५०-५१ को युरोप भ्रमण नेपालको इतिहासकै एउटा महत्वपूर्ण कोसेढुङ्गा हो। इतिहासकार जोन व्हेल्पटनले पुस्तक “जंगबहादुर इन युरोप: द फर्स्ट नेपालीज मिसन टु द वेस्ट” मा यसै ऐतिहासिक यात्राका रोचक र ओझेलमा परेका पाटाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। पुस्तकको सुरुवाती खण्डमा नेपालको ‘कन्ट्री प्रोफाइल’ समेटिएको छ भने पृष्ठ १३१ पछि भ्रमणका विशेष प्रसङ्गहरू उल्लेख छन्।
यस पुस्तकमा मुख्यतया: आफ्नो जात जोगाउन गरिएको कठोर संघर्ष, पश्चिमा समाजसँगको सांस्कृतिक टकराव र आधुनिक सभ्यताप्रति जंगबहादुरको बढ्दो मोहलाई मिहिन ढंगले केलाइएको छ।
१. कालापानी पार: साहस र चुनौती
जंगबहादुरले सत्ता सम्हालेको चार वर्ष पुग्दै गर्दा एउटा साहसिक निर्णय लिए— युरोप भ्रमण। तत्कालीन समयमा ‘कालापानी’ (समुद्र) पार गर्नु हिन्दु धर्ममा वर्जित मानिन्थ्यो। तर, राजनीतिक चेतना, ब्रिटिस सैन्य शक्तिको प्रत्यक्ष अवलोकन र अन्तर्राष्ट्रिय कूटनीति बुझ्ने तीव्र इच्छाले उनलाई यस यात्राका लागि प्रेरित गर्यो। व्हेल्पटनका अनुसार, “जंगबहादुर युरोप पुग्ने दक्षिण एसियाकै पहिलो उच्च पदस्थ शासक बनेका थिए।” यश यात्राले नै विश्व जगतमा नेपालीको स्वाभिमानी पहिचान स्थापित गरेकाे थियो ।
२. समुद्री यात्रा र जात जोगाउने सकस
त्यसबेला ‘म्लेच्छ देश’ जानु र त्यहाँका मानिससँग सहभोजन गर्नु जात जानु सरह मानिन्थ्यो। त्यसैले जंगबहादुर र उनको ४० सदस्यीय टोलीका लागि आफ्नो धार्मिक शुद्धता कायम राख्नु ठूलो चुनौती थियो:
जहाजमा ‘भाञ्सा’ प्रणाली: कलकत्ताबाट युरोप जाँदा जहाजमै छुट्टै हिन्दु भान्सा (चोका) बनाइयो। उनी खाना बनाउँदा र खाँदा धोती मात्र लगाउँथे, ताकि बाहिरी मानिसको नजर नपरोस् र ‘छोइछिटो’ नहोस्।
गाईको हत्या र चेतावनी: भूमध्यसागर पार गर्दा जहाजमा अंग्रेजहरूका लागि गाई मारिएको थाहा पाएपछि जंगबहादुरले कडा आपत्ति जनाए। उनले कप्तानलाई बरु जहाज नै परिवर्तन गर्ने धम्की दिएपछि मात्र लुकाएर मात्र मासु काट्ने सहमति भयो।
पुच्छर प्रकरण: युरोपेली भेडाको पुच्छर लामो हुने भएकाले नेपाली टोलीले खान मानेनन्। पछि जहाजका कर्मचारीले पुच्छर काटेर ‘छाेटाे’ बनाइदिए पनि टोलीका सदस्य कर्वीर खत्रीले चलाखीपूर्वक त्यो छल पत्ता लगाए, जसले ठूलो खैलाबैला मच्चाएको थियो।
३. बेलायतमा भव्य स्वागत र ‘डुकुलन्ठुन’
१८५० मे २६ मा लन्डन पुगेका जंगबहादुरलाई बेलायती प्रधानमन्त्री लर्ड जोन रसेलले भव्य स्वागत गरे। लन्डनको सञ्चार जगत यी ‘पूर्वीय राजकुमार’ को वैभव र खर्चालु स्वभाव देखेर चकित थियो।
रानी भिक्टोरियासँगको सामिप्यता: रानी भिक्टोरियासँगको भेटमा उनले सुनको माछा र राजा सुरेन्द्रको पत्र उपहार दिए। रानीले उनलाई राजकीय भोज र ओपेराहरूमा समेत स्वागत गरेकी थिइन्।
आधुनिक शस्त्रमा लगानी: जंगबहादुरले पुर्डे नामक पसलबाट मात्रै २३,३०० पाउण्ड (हालको करिब ४ करोड २० लाख रुपैयाँ) बराबरका अत्याधुनिक बन्दुक र गोली खरिद गरे, जसले उनको सैन्य चासोकाे पुष्टि गर्छ।
‘डुकुलन्ठुन’ को कथा: बेलायती सेनापति ‘ड्युक अफ वेलिङ्टन’ सँगको भेटपछि जंगबहादुरले जिस्किएर उनको नाम बिगार्दा ‘डुकुलन्ठुन’ शब्द जन्मिएको मानिन्छ। नेपालीमा आज पनि मूर्ख वा ठग व्यक्तिलाई यही नामले चिनिन्छ।
सांस्कृतिक सकस: एकपटक भक्सहल गार्डेनमा उनको आकर्षक पहिरन र गहना देखेर स्थानीय महिलाहरूले उनलाई घेरेर छुन खोजेका थिए। इज्जत जाने डरले जंगबहादुर त्यहाँबाट उम्कन निकै हम्मे-हम्मे परेको उल्लेख छ ।
४. फ्रान्स यात्रा र प्रभाव
अगस्ट १५, १८५० मा उनी फ्रान्स प्रस्थान गरे, जहाँ उनलाई राष्ट्रपति लुई नेपोलियनले स्वागत गरे। युरोपको यस यात्राले जंगबहादुरलाई पश्चिमा कानुन, प्रशासन र विकासको ढाँचा बुझ्न मद्दत गर्यो, जसको छाप पछि नेपालको ‘मुलुकी ऐन १९१०’ मा स्पष्ट रूपमा देखियो।
पृष्ठ गणना: ३२०
प्रकाशित: १९८३
प्रकाशक: सहयोगी प्रेस
मूल स्रोत : मिशिगन विश्वविद्यालयबाट
डिजिटाइज्ड: सेप्टेम्बर ४, २००८
भाषा: अंग्रेजी
अनुवादक: जोन व्हेल्प्टन















