कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’ बनाउने योजनामा के छ ?
कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’ बनाउने योजनामा के छ ?
पोखरा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । पूराना र नयाँ राजनीतिक दलका उम्मेद्वारहरु आफ्ना एजेन्डासहित घरदैलो गरिरहेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) साथै राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेद्वार बढी आक्रमक भएर चुनावी घरदैलो संचालन गरिरहेका छन् । जसका कारण कास्की चुनावमय बनेको छ ।
नयाँ मानिएको उज्यालो नेपाल पार्टीका उम्मेद्वार कुशल गुरुङको चुनावी अभियानलाई स्थानीयले विशेष चासोका रुपमा हेरिरहेका छन् । जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जाका अन्तर्राष्ट्रिय रूपमा सम्मानित विज्ञ भएकाले उनी र अन्य दलका उम्मेद्वारलाई हेर्ने दृष्टिकोण फरक मानिएको छ ।
चुनावी घोषणा पत्र र २१ बुँदे प्रतिवद्दतापत्रसहित मैदानमा रहेका उनले पर्यटकीय नगरी पोखरासहित कास्कीको विकासका लागि भिजनरी उम्मेद्वारका रुपमा हेरिएको छ ।
घोषणा पत्रमा उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानमार्फत वार्षिक ३० लाख पर्यटक भित्र्याउने, फेवाताल संरक्षण रामसार मापदण्ड अनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण सुनिश्चित गर्नेलगायत दर्जनबढी महत्वकांक्षी योजना अघि सारेका छन् ।
ऊर्जा क्षेत्रमा गुरुङले आर्जन गरेको ज्ञान, अनुभव र दूरदृष्टिलाई संघदेखि स्थानीय तहसम्म नीति निर्माणमा व्यवहारिक रूपमा प्रयोग गर्दै आएका छन् । अब सरकारलाई बाहिरबाट सुझाव दिने भूमिकामात्र नभई, स्वयं नीति निर्माणको केन्द्रमा पुगेर काम गर्नुपर्ने समय आएको विश्वासका साथ कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको उनी बताउछन् ।
देश रुपान्तरण, नवयुवाको आकांक्षा र दिगो भविष्यको चाहनालाई साकार पार्दै ‘उज्यालो नेपाल’ निर्माणको खाकालाई व्यवहारमा उतार्ने प्रतिबद्धताका साथ आफु चुनावी मैदानमा उभिएको धारणा राखे । पोखरालाई प्रकृतिले नै पर्यटनको राजधानी बनाएको उनी बताउँछन्।
तर आज जलवायु परिवर्तनको गम्भीर संकट पोखरामाथि आइपरेको गुरुङ बताउछन्। उनका अनुसार तालहरु सुक्दै गएका छन्, हिमालका हिउँ पग्लँदै कालापथ्थरमा परिणत हुँदैछन्।
उनी भन्छन् ‘यसको दोष पोखरेली जनताको होइन, विश्वका औद्योगिक राष्ट्रहरूले गरिरहेको अत्यधिक कार्बन उत्सर्जनको परिणाम हो । यद्यपि हामी आफ्नै ठाउँबाट संरक्षणका कदम चाल्न सक्छौँ र चाल्नुपर्छ । साथै, जलवायु परिवर्तनबाट भएको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय क्षतिपूर्ति लिनुपर्ने आवश्यकर्तालाई हामी दृढतापूर्वक उठाउनेछौँ।’
विश्वमा रहेका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्ण, धौलागिरी र मनास्लु–तीनवटै हिमाल पोखराबाट देखिन्छन् । विश्व रामसार सूचीमा सूचीकृत यहाँका आठवटा तालहरूले पोखराको सौन्दर्य बढाएका छन्, पोखराबासीको पानीको सुनिश्चितता, जमिनको उर्वरता र सहरको शीतलता कायम राखेका कारण कास्की मुलुककै लागि ठूलो सम्पत्तीका रुपमा हेर्नुपर्नेमा उनी प्रष्ट छन् ।
फोहोरमैला व्यवस्थापन, तालतलैया र सिमसार संरक्षण, प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटन जोगाउनुपर्ने साथै रोजगारी, उद्यमशीलता, उच्च मूल्यको कृषि उत्पादनमार्फत आर्थिक रूपान्तरण, सामाजिक न्याय र सुशासनको अनुभूति दिलाउने दायित्व आफूहरुसँग रहेको उनको भनाइ छ ।
भाषण र खोक्रा नारामा होइन, काम र परिणामबाट आफू आम जनताको साँचो प्रतिनिधि भएको प्रमाणित हुनेमा उनी विश्वस्त छन् ।
गुरुङ जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जाका अन्तर्राष्ट्रिय रूपमा सम्मानित विज्ञ हुन्। उनी संयुक्त राज्य अमेरिकाको एस्पेन आइडियाज फेस्टिभल फेलो – २०२४, एसिया सोसाइटी अमेरिकाको ‘एसिया २१ युवा नेतृत्व कार्यक्रम(२०१७’ तथा बेलायतको एडिनबर्ग विश्वविद्यालय व्यवस्थापन विद्यालयको १०० वर्षे इतिहासमा उत्कृष्ट १०० भूतपूर्व विद्यार्थी मध्ये एक हुन्।
निकै प्रतिस्पर्धात्मक रुपमा चासोका साथ हेरिएको कास्की २ मा एमालेबाट रश्मि आचार्य, कांग्रेसका मधु बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङलगायतका उम्मेदवार मैदानमा छन् ।
गुरुङका २१ वुँदे प्रतिवद्धता पत्र
१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गराई वार्षिक ३० लाख पर्यटक भित्राउने ठोस योजना कार्यान्वयन गर्नेछौँ ।
२. पृथ्वीचोकस्थित बसपार्कलाई व्यवस्थित र विस्तार गर्दै सार्वजनिक शौचालय, अपांगमैत्री संरचना, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्क निर्माण गर्नेछौँ ।
३. फेवाताल संरक्षण रामसार मापदण्ड अनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण सुनिश्चित गर्नेछौँ।
४. सेती कोरिडोर विकास योजना अन्तर्गत शान्ति वन जैविक विविधता उद्यान सुधार, रामघाट जलाधारलाई जलविहार मनोरञ्जन केन्द्र, घाटहरूलाई स्वच्छ र व्यवस्थित, तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयबाट बागमारा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौं ।
५. पोखरालाई साहसिक खेलकुदको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्दै खेलकुद पर्यटनमार्फत व्यापक स्वरोजगारी सिर्जना गर्नेछौँ ।
६. वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई तत्काल प्रतिक्रिया प्रणाली लागू गर्नेछौँ ।
७. जलवायु उत्थानशील कृषि प्रणाली अपनाई कृषकलाई जलवायु जोखिम बीमा, प्रविधि र प्राविधिक सहयोगको विशेष प्याकेज कार्यान्वयन गर्नेछौँ ।
८ अन्तर्राष्ट्रिय जलवायु वित्तमार्फत ‘जलवायु कोष’ स्थापना गरी जलविद्युत आयोजनामा जलवायु उत्थानशील प्रविधि अपनाउँदै दिगो ऊर्जा विकास सुनिश्चित गर्नेछौँ ।
९. पोखरा डिजिटल इकोसिस्टम स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्नेछौँ ।
१०. सामुदायिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एआइ आधारित शिक्षा र तालिम प्रभावकारी रूपमा लागू गर्नेछौँ ।
११. कास्की, स्याङ्जा र तनहुँका स्थानीय तहहरू समेटेर एकीकृत फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान कार्यान्वयन गर्नेछौँ ।
१२. भूपू गोर्खासैनिकहरूको विरासतको सम्मान गर्दै ब्रिटिस गोर्खा संग्रहालयलाई आधुनिक ‘गोर्खा संग्रहालय’ मा स्तरोन्नति गर्नेछौँ। नेपालका युवाहरूका लागि सम्मानजनक, सुरक्षित र सहमति(आधारित भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरु गराउन कूटनीतिक पहल गर्नेछौँ ।
१३. सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बस्तीहरूको न्यायपूर्ण, व्यावहारिक र दिगो समाधान सुनिश्चित गर्नेछौँ ।
१४. संगीत र मनोरञ्जन क्षेत्रको विकास गर्दै युवालाई रोजगारी र उद्यमशीलतामा जोड्दै कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्नेछौँ ।
१५. पार्क, खेलमैदान र सार्वजनिक खुला स्थान विस्तार गरी शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक एकता मजबुत बनाइनेछ ।
१६. सरकारी अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गर्दै विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाइनेछ ।
१७. कर्मचारीतन्त्रको कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन र वैज्ञानिक लेखापरीक्षण लागू गर्दै आधारित सुशासन प्रणाली मार्फत सेवा प्रवाह छरितो र पारदर्शी बनाइनेछ ।
१८. बाटुलेचौरमा ‘सारङ्गी घर’ निर्माण गरी पर्यटकले टिकट लिएर नेपाली रैथाने संगीत सुन्ने थलो बनाइनेछ। यसको व्यवस्थापन स्थानीय गन्दर्भ समुदायले गर्नेछन्।
१९. भलाम, आँटीघर, मौजा, अर्मला लगायत ग्रामीण क्षेत्रलाई कृषि(पर्यटन र पूर्ण अर्गानिक उत्पादन क्षेत्रका रूपमा विकास गरी उच्च मूल्यमा बजारीकरणको व्यवस्था गरिनेछ ।
२०. कृष्तिदेखि भरतपोखरी र निर्मलपोखरीसम्मको सुन्तला पकेट क्षेत्रमा देखिएको सिट्रस ग्रिनिङ रोगको वैज्ञानिक समाधान गर्दै अनुदानसहित नयाँ विरुवा रोप्न किसानलाई प्रोत्साहन गरिनेछ ।
२१. सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गर्ने व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही अघि बढाई पीडितको बचत फिर्ता गर्ने प्रक्रिया तुरुन्त सुरु गरिनेछ। सहकारी ठगीलाई कुनै पनि हालतमा राजनीतिक सौदाबाजीको विषय बनाइने छैन।






