पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाइएको छ – कांग्रेस सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् ।
कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।
उनले यत्तिकै पाँच हजार रोजगारी नभइ कृषि, पर्यटन, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सृजना गर्ने संकल्प लिएको बताए ।
उनले भने, ‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।’
उनले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गरे । अहिलेका युवाहरूसँग थुप्रै कला, साहित्य र सृजनाहरू छन् । उहाँहरूले सृजना गर्नु भएको छ । तर त्यसलाई बेच्न बजारमा पाइराख्नु भएको छैन । यसबाट स्वतन्त्रता खोज्नु भएको छ । यसका बारेमा हामी प्रस्ट छौँ ।’
उनले युवाहरूमा अर्को महत्वपूर्ण कुरा सीप र सृजनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने गरी हुनु भएन । उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरूरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ ।’
यस्तै सरकारले ब्रेन ड्रेनसँगै ब्रेन गेन अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रुपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाए । विदेश पलायन भएका युवाहरूलाई नेपालमै कसरी संस्थागत ढंगबाट काम गर्ने वातावरण सृजना बनाउन सकिन्छ भन्ने कुरा योजना तयार पारेका छौँ ।’
















