डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल
डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई ‘देश परिवर्तनको अवसर’ र ‘विशेष निर्वाचन’ का रूपमा व्याख्या गरेका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै अर्यालले मतदाताको चाहनाअनुसार पार्टीले सभापति रवि लामिछाने र बालेन्द्र शाहलाई साझा उद्देश्यमा सहकार्य गराइएको उल्लेख गरे । नागरिकको सानो आशा र चाहनालाई सम्मान गर्दै त्यसलाई पूरा गर्ने प्रयास गरिएको उनको भनाइ थियो ।
उनले २०७९ सालमा सुर्खेतमा गरेको सम्बोधनको स्मरण गर्दै त्यसयता कर्णालीले वैकल्पिक राजनीतिप्रति देखाएको आशा र भरोसाको प्रशंसा गरे । देशभित्र तथा विश्वभर रहेका नेपालीहरूको अपेक्षालाई समेट्दै रास्वपा उदाएको उनले बताए ।
अर्यालले पार्टीको मुख्य उद्देश्य देशमा सुशासन स्थापना, भ्रष्टाचार अन्त्य, जनजीविकासम्बन्धी मुद्दामा काम तथा विकास र सेवा प्रवाहमा प्रभावकारी परिणाम दिनु रहेको स्पष्ट पारे । ‘हाम्रो उद्देश्य प्राप्तिका लागि जनताबाट बलियो जनादेश आवश्यक छ,’ उनले भने ।
उनले आगामी निर्वाचन विगत र भविष्यका अन्य निर्वाचनभन्दा फरक र निर्णायक हुने दाबी गर्दै समानुपातिक तथा प्रत्यक्ष दुवै तर्फ ‘घण्टी’ चुनाव चिन्हमा मतदान गरी दुईतिहाइ बहुमत दिलाउन मतदातासँग अपिल गरे । ‘यो जित पार्टीको मात्र होइन, देश र आम नेपालीको भविष्यसँग जोडिएको विषय हो,’ अर्यालले भने ।






