हातमा डायरी र मनमा जिम्मेवारी लिएर जनजनमा कैलाली ४ बाट बिष्ट
अत्तरिया । ‘चुनाव आउँछ। लावालस्कर लगाउँछ। नेता गाउँ पस्छ। भाषण ठोक्छ। आफ्ना कुरा सुनाउँछ। हात हल्लाउँछ। फर्कन्छ’ प्राय: चुनावताका देखिने दृश्य यस्तै हो । जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले लिएको म्यान्डेटअनुसार फागुन २१ गते हुन गइरहेको निर्वाचनमा प्रायः उम्मेदवारहरू उति तडकभडक देखिँदैनन् जति विगतका निर्वाचनमा देखिन्थ्यो ।
कैलालीको क्षेत्र नम्बर ४ मा भने अलि फरक दृश्य देखिने गरेको छ । विशेषगरी नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहेका गोरखबहादुर बिष्ट ‘आनन्द’ उम्मेदवारी दर्ता गराएदेखि निरन्तर जनताको घरदैलोमा छन् ।
प्राय: उही पहिरन र हरेक क्षण हातमा डायरी लिएर उनी गाउँगाउँमा पुग्छन् । फरक फरक समुदायका टोलटोलमा टेक्छन् । उँचो स्वरले भाषण गर्दैनन्, मन्द हाँसेर जनताका गुनासो सुन्छन्, आफैँ त्यही डायरीमा टिप्छन् ।
नयाँ पुस्ताको परिवर्तनको चाहना मनन गरेर पनि होला उनी निकै जिज्ञासु, शान्त, धैर्यशील र मन्द मुस्कुराएर संयमतापूर्वक कुरा सुन्छन् । बुज्रुक, बालबालिका र फरक क्षमताका नागरिकप्रति उनी झन् धेरै सम्मानपूर्वक प्रकट हुन्छन् ।
धेरै स्थानमा पटकपटक उम्मेदवार भइसकेका, चुनिएर गएका पुरानो पुस्ताका नेताले त कयौँ प्रश्नको ठाडो सामनासमेत गरिरहनुपरेको छ । अझ मन्त्री र प्रधानमन्त्री भइसकेकालाई त जनताले ‘विगतमा गरेनौ, अब गर्छौ भनेर कसरी पत्याइदिने ?’ भन्दै नाजवाफ बनाएका दृश्य छरपस्ट भइरहेका छन् ।
तर आनन्दले त्यो अवस्था सामना गर्नुपरेको छैन । बरु स्थानीय समुदायले उनलाई आफ्नो संस्कृति अनुसारको सांस्कृतिक झाँकी वा नृत्यसहित स्वागत गर्न आइपुग्छन् । कहीँ डेउडा त कहीँ थारू समुदायको सखिया वा कतै रानाहरूको होरी नाचले उनलाई स्वागत गर्ने गरेका छन् ।
यसो किन त ? युवा उम्मेदवार आनन्दले भने, ‘सायद म टेस्टेड नभएर होला ।’
उनले प्रस्टयाउँदै भने, ‘मैले चुनावका लागि जनता माझ आउँदै गर्दा पहिलो दिन नै भनेको थिएँ, म अरुको आलोचना गरेर, अरुका कमजोरी देखाएर नेता बन्न आएको होइन, मेरो विवेक, बरकत, अनुभव, क्षमता र युवा जोश लिएर राजनीतिमार्फत समाज बदल्ने संकल्प लिएर आएको हुँ । सायद जनतालाई ममाथि भरोसा छ र यो सबै स्नेह पाइरहेको छु ।’
चुनावी अभियानका क्रममा मंगलबार गोदावरी नगरपालिका ८ जोनापुर टोलमा पुग्दा उनलाई स्थानीय भव्य स्वागत गरे । नेता बिष्ट पनि उनीहरूसँगै नाचिदिए । जनताका कुरा सुने, डायरीमा टिपे । वचन दिए- ‘म यहाँहरूका आवाज परिणाम दिनेगरी बोकेर जानेछु ।’
लगत्तै उनी गोदावरी नगरपालिका ९ सेहरी टोल पुगे। मुसुक्क हाँस्दै जनताका आवाज सुने, समस्या, गुनासा र सुझावको माला डायरीमा उने ।
गोदावरी नगरपालिका वडा नं ८ श्रीपुरमा त समाजसेवी विष्णुदत्त पन्तसहित ६ जना आनन्दको नेतृत्वप्रति आफूहरू विश्वस्त भएको भन्दै नेपाली कांग्रेस नै प्रवेश गरे ।
आनन्दले उनीहरूलाई अबिर लगाए । फूल दिएर पार्टीमा स्वागत गरे । यही उत्साह उनले गोदावरी नगरपालिका ८ जोनापुरमा पाए । युवा समाजसेवी श्रवण चौधरीसहित १० जना त्यहाँ पनि पार्टी प्रवेश गरे ।
देश-विदेशको अनुभव भएको, पुरानाको सम्मान र नयाँ पुस्ताको आवाज बन्न सक्ने नेतृत्व आनन्द बिष्ट लागेर आफूहरू पार्टीमा लागेको उनीहरूले बताए ।

















