नेपालको निर्वाचनमा प्रवासमा रहेका नेपालीहरूको भूमिका : स्थिरता, जिम्मेवारी र साझा भविष्य
सञ्जय थापा
नेपालको लोकतान्त्रिक यात्रामा निर्वाचन केवल प्रतिनिधि छान्ने औपचारिक प्रक्रिया मात्र होइन, राष्ट्रको भावी दिशा तय गर्ने महत्त्वपूर्ण अवसर हो। हरेक निर्वाचनले देशलाई स्थिरता र विकासको मार्ग तर्फ अघि बढाउने सम्भावना बोकेको हुन्छ। यस्तो संवेदनशील घडीमा देशभित्र रहेका नागरिकहरू जत्तिकै विदेशमा बसोबास गरिरहेका लाखौँ प्रवासी नेपालीहरूको भूमिका पनि अर्थपूर्ण र प्रभावकारी रहन्छ।
विश्वका विभिन्न मुलुकमा रोजगारी, अध्ययन, व्यवसाय तथा पेशागत कारणले बसोबास गरिरहेका नेपालीहरूले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।
उनीहरूले पठाउने रेमिट्यान्सले लाखौँ परिवारको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाएको छ। तर प्रवासी नेपालीहरूको योगदान आर्थिक क्षेत्रमा मात्र सीमित छैन, उनीहरू वैचारिक, सामाजिक र राजनीतिक रूपमा पनि मातृभूमिसँग गहिरो रूपमा जोडिएका सचेत नागरिक हुन्।
विदेशमा बस्दा उनीहरूले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्व र संस्थागत मजबुतीका अभ्यासहरू नजिकबाट देखेका हुन्छन्। यही अनुभवका आधारमा उनीहरूले नेपालको राजनीतिक परिस्थिति, दलहरूको दृष्टिकोण, नेतृत्वको क्षमता र दीर्घकालीन योजनाहरूको विवेकपूर्ण मूल्याङ्कन गर्न सक्छन्।
निर्वाचनका बेला उनीहरूले भावनात्मक आवेगभन्दा माथि उठेर योग्य, अनुभवी, सक्षम र स्पष्ट ऐतिहासिक पृष्ठभूमि भएका राजनीतिक शक्तिहरूको पक्षमा तथ्यमा आधारित बहस र संवादलाई प्रोत्साहन गर्नु आवश्यक हुन्छ।
निःसन्देह, प्रवासी नेपालीहरूका आफ्नै धेरै मागहरू छन्, गुनासाहरू छन्, र राज्यसँग अपेक्षाहरू पनि छन्—जस्तै नागरिकता, मतदान अधिकारको सहज व्यवस्था, लगानी सुरक्षादेखि सामाजिक सुरक्षासम्मका विषयहरू। यी सवालहरू महत्त्वपूर्ण छन् र सम्बोधन हुनै पर्छ। तर हरेक मुद्दाको उठानको समय र सन्दर्भ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यदि देश नै अस्थिरतामा फसिरह्यो भने कुनै पनि माग दिगो रूपमा सम्बोधन हुन सक्दैन। त्यसैले अहिलेको संवेदनशील राजनीतिक अवस्थामा प्राथमिकता स्थिरता, नीतिगत निरन्तरता र संस्थागत मजबुतीमा दिनु आवश्यक छ।
निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएपछि प्रवासी नेपालीहरूले आफ्ना आवश्यकता र सरोकारका विषयमा संगठित र सशक्त रूपमा संवाद र छलफल गर्न सक्नेछन्।
राजनीतिक अस्थिरताले विकास योजनाहरू अवरुद्ध हुन्छन्, आर्थिक वातावरण प्रभावित हुन्छ र जनविश्वास कमजोर बन्छ। यस्तो अवस्थाबाट देशलाई जोगाउन प्रवासी नेपालीहरूले सकारात्मक भूमिका खेल्न सक्छन्। उनीहरूले आफ्ना परिवार, आफन्त र समुदायसँग जिम्मेवार संवाद गर्दै स्थिरता, सुशासन र दीर्घकालीन सोचलाई प्राथमिकता दिन आग्रह गर्न सक्छन्। सामाजिक सञ्जालमार्फत पनि तथ्यमा आधारित, संयमित र राष्ट्र हित केन्द्रित विचार प्रस्तुत गर्नु उनीहरूको महत्त्वपूर्ण योगदान हुन सक्छ।
राज्य पक्षले पनि प्रवासी नेपालीहरूलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा होइन, नीति–निर्माण प्रक्रियाका महत्त्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्नुपर्छ। मतदाता दर्ता प्रक्रिया सहज बनाउने, सूचना पहुँच विस्तार गर्ने र विदेशबाट मतदानको व्यवस्था जस्ता सुधारहरूले लोकतन्त्रलाई अझ समावेशी बनाउनेछन्।
अन्ततः, प्रवासमा रहेका नेपालीहरू नेपालको भविष्य निर्माणका सह–यात्री हुन्। उनीहरूको अनुभव, ज्ञान र मातृभूमिप्रतिको प्रतिबद्धता राजनीतिक स्थिरता र समृद्धिको आधार बन्न सक्छ।
अहिलेको घडीमा देशलाई स्थिरताको मार्गमा सहयोग गर्दै, निर्वाचनपछिको चरणमा आफ्ना हक–अधिकार र आवश्यकताबारे सशक्त संवाद गर्ने परिपक्व सोच नै राष्ट्र हितमा हुनेछ। स्थिर राजनीति, सक्षम नेतृत्व र साझा जिम्मेवारीबाट मात्र समृद्ध नेपालको आधार निर्माण हुन सक्छ।
(अमेरिकाको न्यू योर्क निवासी लेखक थापा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।)

















