सुनसान सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन
काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ।
नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ ।
बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तीव्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टिमले यो ‘ब्ल्याक याक ब्राण्ड’को विज्ञापन छायाँकनले यसलाई गलत साबित गरिदिएको हो ।
उक्त विज्ञापनलाई ड्रोन र क्यामेरा प्रयोग गरी छायाँकन भइरहेको छ । यसको सबै सरकारी अनुमति प्रक्रिया र प्राविधिक व्यवस्थापन भने फिल्म क्रू नेपाल नामक संस्थाले गरेको हो । फिल्म क्रू नेपालले उक्त वृत्तचित्रको लागि गृह, पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएको थियो ।
पर्यटन व्यवसायी नावा निमा शेर्पाले नेपाल दुईवटा सिजनको लागि मात्र नभई हिउँदे सिजन पनि त्यत्तिकै सौन्दर्य र मौसम अनुकूल छ भन्ने कुरा विश्वलाई चिनाउन चाहेको बताए । विशेष विन्टर सिजनलाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई अलि प्रवर्द्धन गर्नुपर्ने समेत बताउँछन् ।
उनले भने, ‘चार वटा सिजनलाई व्यवसायीहरूले गलत प्रचार गरेजस्तो लाग्छ । अक्टोबर र स्प्रिङ सिजनमा पर्यटन गतिविधि धेरै हुन्छ तर नेपालमा यसबारे गलत बुझाइ छ । नेपालमा दुईवटा सिजनको लागि मात्र होइन, विन्टरमा पनि त्यत्तिकै सौन्दर्य र मौसम अनुकूल छ । विशेषगरी नेपालको लागि यो सिजन एकदमै राम्रो हो भन्ने कुरालाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई बढी प्रवर्द्धन गर्नुपर्छ ।’
यसैगरी उनले नेपाल संसारकै प्रकृतिक रूपले खुल्ला स्टुडियो भएको हुनाले नेपाल सरकारले बढी फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए । उनले कानुनी प्रक्रियाहरू विशेषगरी अनुमति प्रक्रियामा सहजीकरण गर्यो भने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुने बताए ।
उनले भने, ‘सरकारले नेपाल संसारका लागि अपन स्टुडियोका रुपमा बुझाउन सक्नुपर्छ । फिल्म सुटिङका लागि प्रमोट गर्दै कानुनी प्रक्रियाहरूमा सहजीकरण गरिदिनुपर्छ । विशेषगरी अनुमति दिने कुरामा सहजीकरण भयो भने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुन्छ । यसले नेपाललाई संसार भरी प्रवर्द्धन गर्छ भन्ने व्यवसायीहरूको मान्यता हो ।’
वसन्त ऋतुलाई हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । सामान्यतया नेपालमा हिमाल आरोहण र पदयात्राका लागि असोज, कार्तिक र वैशाख महिनालाई उपयुक्त मानिन्छ ।
सरकार र पर्यटन व्यवसायीले सोही अनुसार पर्यटन प्रवर्द्धन गर्ने गरेका छन् । तर पर्यटन विभागले आरोहीहरूले निवेदन दिएको खण्डमा जुनसुकै सिजनमा पनि अनुमति दिने गरेको निर्देशक/सूचना अधिकारी हिमाल गौतमले बताए ।
















