आयोगले सोध्यो आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण
काठमाडौं/ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ ।
आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रिय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए।
उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए। बाँकीको जवाफ आउने क्रममा रहेको उनले बताए।
भट्टराईका अनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ । कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरूलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले जानकारी दिए ।
नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कारबाही गर्ने भट्टराईले बताए ।
‘केन्द्रिय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टीकरण सोधिएको छ । अहिले बढेर २३ पुगेको भन्ने छ । यो बढ्ने क्रमस जारी रहन्छ, अहिलेलाई २१ भनेँ । २१ वटा सम्बन्धित व्यक्ति र संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ । १२ वटाबाट जवाफ आइसकेको छ । अरूको जवाफ आउने क्रममा छ । आयोगले कानुन बमोजिम कारबाही गर्नेछौँ ।’ भट्टराईले भने।
उनले कसैलाई सफाइको मौका नदिईकन कारबाही गर्न हुँदैन भन्ने व्यवस्था समेत कानुनमा गरिएको बताए।
‘आयोगले स्पष्टीकरण सोध्छ, कारबाही गर्दैन भन्ने जिज्ञासा वा गुनासो पनि आउने गर्छ तर त्यो होइन । नियतवश नै आचारसंहिता उल्लङ्घन भएको रहेछ भने आयोगले थप कारबाही पनि गर्छ । एउटा कार्यदल बनेको छ । कार्यदलले अध्ययन गर्ने, कारबाही गर्ने हो की होइन, स्पष्टीकरण सोध्ने हो की होइन भन्ने विश्लेषण गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पेश गर्ने काम गरिरहेको छ ।’ उनले भने ।
भट्टराईले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिए। उनकाअनुसार आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।
मिथ्या सूचना प्रशारण गर्नेलाई कारबाही गर्न सिफारिस
निर्वाचन आयोगले डिजिटल माध्यमबाट मिथ्या सूचना प्रशारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) अन्तर्गतका निकायहरूले मिथ्या सूचना प्रवाह गर्नेहरूको पहिचान गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।
गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति जस्ता हानिकारक सूचनाहरू फैलिरहेकोले उनले बताए।
भट्टराईका अनुसार हानिकारक सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पठाइएको उनले जानकारी दिए ।
भट्टराईले भने , ‘हानिकारक सूचनाहरू पहिचान गर्ने र सम्बन्धित निकायमा कारबाहीको लागि लेखेर पठाउने गरिएको छ । त्यसअन्तर्गत १२० वटा कन्टेन्टहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पटाइएको छ । ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत कारबाहीको लागी दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । १५ वटालाई प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीको लागि प्रेस काउन्सिलमा पठाइएको छ । ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन भएकोले सो बमोजिम कारबाही गर्नको लागी केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ ।’
उनले आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको पनि जानकारी दिए । तीमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी ९०६ वटा प्रश्न रहेका छन् । आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको उनले बताए ।
– न्युज एजेन्सी नेपाल

















