बतासे अण्डाहरूबाट कुनै चल्ला निस्किने वाला छैन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा ‘ठुटे सिङ’ लिएर सिङौरी खेल्न आएको दाबी गरेका छन् ।
शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिङौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।
उनले भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिङौरी खेल्न । मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा सच्चैको । बतासे अण्डाबाट चल्ला निक्लिदैँन् । बतासे अण्डाहरूबाट कुनै चल्ला निस्किने वाला छैन् । बतासको खेती गरिरहेका छन् । यिनीहरूसँग संगठन, उद्देश्य, विचार छैन् । भोलि उठी कहाँ जाने केही थाहा छैन् । फर्की आउने हो कि होइन त्यो पनि थाहा छैन् ।’
यस्तै, उनले आगो बाल्ने, देश बिगार्ने, भड्काउन र तोडफोड गर्नेलाई क्रान्ति भनेर महिमा गाएको भन्दै आकासे खेती गर्नेहरू धर्तीमा जनतासम्म नपुगेको बताए ।
उनले भने, ‘आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ । यस्ता कुराहरूलाई क्रान्ति भनेर महिमा गाइएको छ । र अरू माथि विभिन्न प्रकारको आरोप लगाएको छ । यी आकासे खेती हुन् । यिनीहरू जनतासम्म पुगेका छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन् । एउटा मोबाइल भन्ने भाँडो छ, त्यही भाडाबाट देशमा हुँडलो मच्चाएको छ ।’
















