जेनजी आन्दोलनमा घुसपैठ गराई उत्तेजित बनाइयो : सांसद विसी
काठमाडौं । नेकपा (एमाले) की सांसद सुमित्रा विसीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई दुई दृष्टिकोणबाट हेर्नुपर्ने बताएकी छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वर्तमान परिस्थितिबारे सबै जानकार रहेको उल्लेख गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले उठाएको आवाज आफूहरूले पनि निरन्तर उठाउँदै आएको विषय भएको बताइन् । आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि अवस्था भने निकै फरक देखिएको उनको भनाइ थियो ।
उनले भनिन्,‘वर्तमान परिस्थितका बारेमा हामी सबै जानकार छौँ । भदौ २३ र २४ गतेको आन्दोलनलाई हामीले दुईवटा दृष्टिकोणले हेर्नुपर्छ भन्ने लाग्छ । जुन युवाहरूले माग राखेर सुशासनका निम्ति, भ्रष्टाचारका विरुद्धमा जुन खालको आवाज उठाए यो हामी सबैले उठाउँदै आएको हो । जुन आन्दोलन भयो त्यो आन्दोलन शान्तिपूर्ण हुने भन्ने थियो तर अवस्था निकै फरक भयो ।’
सांसद विसीले आन्दोलनमा घुसपैठ भएको आशंका व्यक्त गर्दै स्कुले बालबालिकाको टाउको र छातीतर्फ ताकेर गोली प्रहार गरिएको घटनाले आन्दोलनलाई उत्तेजित बनाउन खोजिएको जस्तो देखिएको बताइन् ।
उनले घटनामा ज्यान गुमाएका बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, असह्य पीडा सहन बाध्य भएका अभिभावकहरूप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरिन् ।
उनले भनिन,‘त्यो आन्दोलनमा घुसपैठ भएर स्कुले बालबालिकाहरूको टाउको र छातीमा ताकेर जुन गोली हानियो त्यो आन्दोलनलाई उत्तेजित बनाउन घुसपैठ गरिएको जस्तो देखियो । मृत्युवरण गर्ने बालबालिकाहरूप्रति हार्दिक श्रद्धाञ्जली छ, यो असह्य पीडा सहन बाध्य भएका अभिभावकहरूप्रति मेरो समवेदना छ, ऐक्यबद्धता छ ।’















