मेयर पदबाट राजीनामा दिएर घण्टी घर हुँदै जनकपुर पुगे बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डङ्गोललाई आइतबार राजीनामा बुझाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपाल न्यूज बैंकलाई जानकारी दिएका छन् ।
उनी आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार हुन्। बालेन झापा–५ मा निर्वाचन लड्ने जनाइएको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव जित्दै आएका छन् र यस पटक पनि ओली सोही क्षेत्रमा चुनावी मैदानमा छन्
बालेनले महानगरमा साढे तीन वर्ष नेतृत्व गरेर संसदीय राजनीतिको यात्रा सुरु गर्न लागेका हुन् ।
घण्टी घर पुगे बालेन र सुदन
मेयर पदबाट राजीनामा दिए पछि बालेन रास्वपाको केन्द्रीय कार्यालय घण्टी घर पुगे । बालेनसँगै जेन्जी आन्दोलन पछि राजनीतिक चर्चामा आएका हामी नेपालीका सुदन गुरुङ पनि घण्टी घर पुगेका हुन्।
बालेनलाई जनकपुरधाम विमानस्थलमा समर्थकहरूले गरे भव्य स्वागत
रास्वपाको केन्द्रीय कार्यालय घण्टी घरमा घण्टी बजाउँदै सभापति अङ्कमाल गरे पछि बालेन केही समय सोही स्थानमा रहे। त्यस पछि उनी जनकपुर पुगे ।
बालेनलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
आइतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरूले विमानस्थलमै पुगी भव्य स्वागत गरेका छन् । बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।
बालेन भोली (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन आएका हुन । भोली हुने सभामा बालेन सहित, रवि लामिछाने र डी.पी अर्यालसहित १२ जना वक्ताहरूको सहभागिता हुने जनाइएको छ ।

















