शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने
सविता नयाँजु /
साँखु(काठमाडौं) । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ । एक महिनाभर स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गरिन्छ ।
एक महिनासम्म धार्मिक विधि अनुसार व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बगाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको महात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
एक महिनासम्म काठमाडौंको साँखुमा शालीनदी मेलाको तयारी भइरहेको छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा श्री माधव नारायण स्वस्तानी व्रत तथा शालीनदी सुधार समितिको महासचिव एलपी श्रेष्ठले आफ्नो मनोकामना पूरा गर्नको लागि नेपालका विभिन्न ठाउँबाट व्रतालुहरू एक महिना कठोर व्रत बस्नका निमित्त आउने गरेको बताए ।
यस्तै, उनले यसपाली महिला र पुरुष र सामागनहरू प्रत्येक वर्ष हुने सात जना गरेर लगभग १८० जनाको सहभागिता हुने पनि जानकारी दिएका छन् ।
उनले भने, ‘यसपाली लगभग महिला र पुरुष गरेर १७० जना व्रतालुहरुको सहभागिता रहेको छ । त्यसमध्य थप सामागनहरू प्रत्येक वर्ष हुने सात जना हुन्छन् । यसरी १८० को हाराहारीमा हुन्छ । तर कोही व्रत बस्छु भनेर आउनुभयो भने एक–दुई जना फेरि थपघट हुन सक्छ ।’
उनले शालीनदी मेलालाई लक्षित गर्दै व्यवस्थापन समितिले ब्रतालु, दर्शनार्थी तथा धार्मिक पर्यटकहरूको सुविधाका लागि व्यापक तयारी पूरा गरेको जनाएको छ । उनका अनुसार महिला ब्रतालुहरू मन्दिर परिसर बाहिर शंखरापुर–साँखु क्षेत्रमा कोठा भाडामा लिएर एक महिना बस्ने व्यवस्था गरिएको छ भने धार्मिक रूपमा गर्नुपर्ने सम्पूर्ण क्रियाकलाप समितिले नै व्यवस्थापन गर्नेछ ।
प्रदेश यात्राका क्रममा बज्रयोगिनी, पशुपतिनाथ, फर्पिङ र पनौतीसम्मको सम्पूर्ण यात्रा, बसोबास र व्यवस्थापन समितिकै तर्फबाट गरिने जानकारी दिइएको छ । यसका लागि ब्रतालुहरूबाट कुनै शुल्क नलिइएको पनि उनको भनाइ छ ।
पुरुष ब्रतालुहरू भने शालीनदी मन्दिर परिसरमै बस्नुपर्ने व्यवस्था गरिएको छ । श्री माधव नारायण विराजमान हुने भएकाले सामग्रीसहित यहीं सुत्नुपर्ने व्यवस्था गरिएको हो । भोजनको व्यवस्थापन भने स्वयं ब्रतालुहरूले नै गर्नेछन् ।
उनले भने, ‘ब्रतालुहरूको व्यवस्थापनको कुरामा महिला ब्रतालुहरू मन्दिर परिसरमा नभइ बाहिर शंखरापुर, साँखुमा कोठा भाडाहरू लिएर एक महिना बस्नुहुन्छ । अन्य यहाँबाट धार्मिक रूपमा गर्नुपर्ने सबै क्रियाकलापहरु, सबै कामहरू समितिको तर्फबाट हामीले गर्छौ । त्यसपछि प्रदेश यात्राका क्रममा पनि आफैँ व्यवस्थापनहरू गर्छौ । जस्तै यहाँको प्रदेश यात्रा क्रममा सुरुमा बज्रयोगिनी भ्रमण हुन्छ । त्यसपछि पशुपति जान्छौं, पशुपतिमा पनि त्यही ढंगको हुन्छ । त्यसपछि हामी फर्पिङ पुग्छौं । फर्पिङमा पनि सबै बसाइहरू समितिको तर्फबाट गर्छौं, पनौती जानुपर्छ । पनौती पनि समितिकै तर्फबाट गर्छौ । यसको लागि ब्रतालुहरूसँग हामीले शुल्क लिने गरेका छैनौं । तर पुरुष ब्रतालुहरू यहीँ सुत्नुपर्छ, शालीनदी परिसरमै उहाँहरूको सुताई हुन्छ । माधव नारायण बिराजमान पनि यहीँ हुन्छन् ।’
उनले यस वर्ष एक महिनाभर करिब २५–३० लाख भक्तजन शालीनदी आउने अनुमान गरिएको भन्दै भक्तजनहरूको आवागमन सहज बनाउन यातायात व्यवसायी र नगरपालिकासँग समन्वय गरिएको बताए ।
लाइन व्यवस्थापनदेखि सुरक्षासम्म स्काउट, महिला स्वयंसेविका र विभिन्न महिला समूहहरू परिचालन गरिएको छ । साथै घाट व्यवस्थापन, नदी सरसफाइ, फोहोरमैला व्यवस्थापन, बजार व्यवस्थापन तथा रंगरोगनका कामहरू सम्पन्न भइसकेका छन् ।
‘ठाउँ सानो भएकाले भीड व्यवस्थापन चुनौतीपूर्ण छ, तर हरेक वर्ष थप व्यवस्थित बनाउने योजना अनुसार स्वयंसेवकहरू परिचालन गरिरहेका छौँ,’ उनको भनाइ छ ।
शालीनदी मेला धार्मिक पर्यटनको महत्वपूर्ण आधारका रूपमा विकास हुँदै गएको भन्दै शालीनदी, श्री माधव नारायण, बज्रयोगिनी, विसम्भरा नारायण, कुन्देश्वर, इन्द्रायणी माता लगायतका धार्मिक स्थलहरूले शंखरापुर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाएको उनले बताए । देश–विदेशबाट धार्मिक यात्रु आउने भएकाले ‘साँखुको अर्को पर्यायवाची नै शालीनदी बनेको’ पनि उनको दाबी छ ।
मन्दिर परिसरभित्रका स्टलहरूको व्यवस्थापन समितिले गर्नेछ भने बाहिरी क्षेत्रमा नगरपालिकाले शुल्क उठाउनेछ । परिसरभित्र एक हातको २५०० रुपैयाँ शुल्क लिइने र सोही आम्दानीबाट मेला व्यवस्थापन गरिनेछ । यस वर्ष मेलामा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ भने स्टलबाट करिब ३०–३५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।
४०–५० किलोमिटर खाली खुट्टा हिँड्नुपर्ने कठिन व्रत भएकाले ५०–५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई स्वास्थ्य अवस्था हेरेर मात्र व्रतमा समावेश गराउने नीति अपनाइएको उनले जानकारी दिएका छन् ।
नेपाल न्यूज बैंक















