पूर्वप्रधानमन्त्री खनाल पत्नी चित्रकार भन्छिन् : जेनजीका नाममा देशलाई ध्वस्त पार्न खोजियो
प्रमिला कार्की /
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।
गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नै घरमा आराम गरिरहेकी छिन् ।
उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिङ्गो देशमाथि आक्रमण गरेको उनले बताइन । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरूको होस यस्तो खाले आक्रमण हुनु जङ्गली पारा भएको बताइन् । जेनजी आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भएको उनको ठम्याई छ ।
‘जेनजी आन्दोलन त निहुँ मात्रै हो। जेनजीहरुले घटना घटाएकै होइन, जेनजीहरु प्रयोग भएका हुन् । रियल जेनजी यस्ता अमानवीय हुँदैनन् । उनीहरूको नामबाट अरूले खेल खेले । राजनीतिबाट टाढा भएकाले होस या राजनीतिमै संलग्न भएकाले होस त्यस्तो आक्रमण गर्ने यो जङ्गली नियम लागू गर्न हुँदैन । एकदम दुःखद घटना हो । मलाई मात्रै होइन, देशकै दुःखद घटना हो । काठमाडौँ भित्र वा बाहिर, देश भरी नेपाललाई ध्वस्त पार्ने कार्यक्रम गरियो । जसले घटायो नेपाललाई असफल राष्ट्र बनाउने र विदेशी सेनाले जेजे गर्न मन लाग्छ गर्ने त्यही प्रयास हो ।’
घट्नालाई स्मरण गर्दै भनिन्,‘जुन दिन घटना घटाइयो त्यस बेला खाना खाएकै थिइन् । किचनको वरपर थिए । एक्कासि बाहिरबाट ढुंगा हानियो, चारै तिरबाट ढुंगा हान्ने बित्तिकै हामी छलेर बसिराखेको थियौँ । ढुंगा सँगसँगै एक छिनमा धुँवाको मुस्लो आयो, मुस्लो यति तातो थियो कि तत्कालै मेरो हातमा पीडा दियो, अनि सास फेर्न धेरै गाह्रो भयो । झ्याल खोज्दै दौडिदा त्यहाँ नपुग्दै ढलेछु । त्यसपछि अरू के भयो थाहा भएन्, अचेत भएछु ।’
त्यस्तै उनले विभिन्न ठाउँमा आगलागी भएको र आफ्नो घरमा पनि आक्रमण हुन सक्ने पूर्व जानकारी कतैबाट नपाएको बताइन् ।
‘आक्रमण हुँदैछ भन्ने थाहा भएन, त्यसको जानकारी केही भएन । त्यही कारणले पनि होला, यसरी आक्रमण भयो अनि यस्तो परिणाम भोग्नुपर्यो,’ उनले भनिन् ।
त्यस्तै पूर्व प्रधानमन्त्री खनालले वर्तमान सरकारले चित्रकारको उपचार गर्ने त के उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी नलिएको भन्दै गुनासो व्यक्त गरे । वर्तमान सरकारमा सामान्य विवेक र मानवीयता नदेखिएको उनले बताए ।
‘चित्रकार भदौ २४ गतेका घटनाक्रमबाट घाइते भएकी मान्छे हो कि होइन, यो देशको सरकारलाई थाहा छ? सुशीला कार्कीले नेतृत्व गरेको सरकारलाई थाहा छ ? घाइते हुन् कि होइनन् उनी घाइतेहरूलाई या निरीक्षण गर्न भनेर विभिन्न ठाउँमा गइन् तर चित्रकार घाइते हुन् कि होइनन् चासो गरिएन । उनले उपचार पाउनुपर्छ कि पर्दैन यो गम्भीर प्रश्न हो । पूर्वप्रधानमन्त्रीले चाहिँ आफैँ उपचार गर्नुपर्छ र सरकारको केही जिम्मेवारी छैन ?’उनले भने,‘ यो राज्य जेनजीका नायकहरूको मात्रै हो र ?’
‘सरकारमा सामान्य विवेक, सामान्य मानवता, मानवीयता त्यो कुरा पनि मैले देखिरहेको छैन । कुनै सोधपुछ वा खोजीनिती छैन। आश्चर्य लागिरहेको छ । कस्तो सरकार भएको देशमा बसिरहेका छौँ हामी ?’ उनले प्रतिप्रश्न गरे ।
त्यस्तै उनले आफूहरूमाथि हमला गर्नेहरू देशकै शत्रु र अपराधी रहेको भन्दै कारबाहीको माग गरे । ‘ती ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न सारा तीन करोड जनताको प्रश्न हो,’ उनले भने ।
‘ती अपराधी हुन्, जल्लादहरू हुन्, देशका शत्रुहरू हुन्, जसले निर्दोष मानिसहरूमाथि निर्मम ढङ्गले हमला गरेका छन्, अपराध गरेका छन् । हाम्रो ज्यान लिन खोजिएको थियो । मेरो श्रीमतीलाई अहिले बचाएर ल्याएको छु तर उनीहरूले ज्यान लिन खोजेका थिए । ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन ?’ खनालले प्रश्न गरे ।
उनले श्रीमती चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी समेत दिएका छन् ।
‘साँढे तीन महिनासम्म उपचार गरेर ल्याएको छु, अहिले अलिक रिकभरी हुँदैछ, अवस्था ठिकै छ तर हात नै गुमाउनुपर्यो । एउटा हात आफैँ समस्यामा थियो, दाहिने अझै चल्न सकेको छैन । केही समाउनै सक्दैन। कति समयपछि ठिक हुन्छ अहिले भन्न सकिँदैन । फेरि थेरापी गर्दै ठिक ठाउँमा ल्याउन सकिन्छ कि भनेर प्रयत्न भइरहेको छ । हरेक दिन ज्वरो आउँछ र जलनका बिमारीहरूलाई ज्वरोले पनि सताउने रहेछ । फेरि पनि इन्फेक्सन हुन्छ कि भन्ने डर छ । दुई वटै हात नचलेपछि जीवन कस्तो होला, मानसिक आघातको कुरा कल्पना पनि गर्न सकिँदैन ।’
नेपाल न्यूज बैंक















