जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम
काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नजानी आफूहरू राजनीतिक परिवेशमा प्रवेश गर्नुपरेको उल्लेख गरिन् ।
उनले विभिन्न राजनीतिक घटनाक्रममा आफ्नो सहभागिता देखिएको भन्दै ती अनुभवबाट धेरै कुरा सिक्न पाएको अनुभूति व्यक्त गरिन् ।
उनले भनिन्, ‘मलाई यो तीन महिना तीन दशक जस्तो महशुस भएको छ । जानी नजानी आन्दोलनले गर्दा खेरी हामी एउटा राजनीतिक परिवेशमा आउनु परेको छ । राजनीतिक धेरै घटनाक्रममा हाम्रो सहभागिता रहेको देखिएको छ । त्यसैले यो तीन महिना मेरो लागि तीन दशक हो । सिक्नुपर्ने कुराहरू सिके जस्तो मलाई महशुस हुन्छ । जिन्दगी भनेको साझा धरातलहरू खोज्ने र त्यसैलाई सन्तुलन गर्दै जाने रहेछ ।’
कार्यक्रममा उनले देशमा शान्ति, समृद्धि र सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा भएको बताइन् । देश भ्रष्टाचारमुक्त हुनुपर्ने, भ्रष्टाचार निषेध हुनुपर्ने र सुशासन स्थापित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले यो चाहना देशका सबै सरोकारवालाको भएको उल्लेख गरिन् ।
तर यति हुँदाहुँदै पनि देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै उनले यसको कारणबारे गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘देशमा शान्ति, समृद्धि, सुखी नेपालीको चाहना सबैको साझा आकांक्षा हो । देश भ्रष्टाचार मुक्त हुनुपर्छ, भ्रष्टाचार निषेध हुनुपर्छ र सुशासन आउनुपर्छ भन्ने चाहना हो । देशका हरेक साझेदारहरूको चाहना यही हो । यो हुँदै गर्दा पनि देशमा भ्रष्टाचार व्याप्त छ, कुशासन किन छ भन्ने मुख्य प्रश्न हो । देशमा किन भ्रष्टाचार छ त यो आफैँलाई प्रश्न गर्नुपर्ने छ ।’















