असन्तुष्टिहरूलाई ढुंगामुढाले प्रस्तुति गर्ने अभ्यास सुधार गर्न जरुरी
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकको भावना अनुसारको काम गर्ने अभ्यासमा विकास गर्न सबैलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनः निर्मित भवन हस्तान्तरण एवं सम्मान कार्यक्रममा उनले नागरिकको भावनाको उच्च कदर गर्दै, भावना अनुसारको काम गर्ने अभ्यासमा विकास विकास गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘नागरिकको भावनाको उच्च कदर गर्दै सकल दर्जाका प्रहरी कर्मचारीहरूले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्नुहोस् भन्ने निर्देशन दिन चाहन्छु । आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिन चाहन्छु ।’
यस्तै, उनले कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरूलाई ढुंगा मुढाले प्रस्तुति गर्ने अभ्यास सुधार गर्न जरुरी रहेको पनि बताए ।
आफ्नै इतिहास मेट्ने मुलुकको नागरिकको रुपमा होइन, शान्तिप्रेमी, विकास प्रेमी र कानुनी शासन चाहने नागरिकका रुपमा सबैतिर चित्रित हुन जरुरी रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘कतिपय अवस्थाका आफ्ना असन्तुष्टिहरूलाई ढुंगामुढाले प्रस्तुति गर्ने हाम्रो अभ्यास सुधार गर्न जरुरी छ । आफ्नै घर जलाउने, इतिहास मेट्ने मुलुकको नागरिकको रुपमा होइन, शान्तिप्रेमी, विकासप्रेमी, उन्नतीप्रेमी, कानून कार्यान्वयन गर्ने र कानुनी शासन चाहने नागरिकका रुपमा हामी सबैतिर चित्रित हुन सकौँ भन्ने कामना छ ।’












