मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् । बाह्रखरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरुको बीचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन् ।
प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरुमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्।
‘हामी त अहिले अचानो जस्तो पो भएछौँ । राजनीति दलले पनि अहिले छाड, भोली छाड भनेर गाली गर्छन् । जेनजीले पनि आजै छाड भोलि छाड वा पर्सी छाड भन्छन् । छाडौँ भने के छाडौँ । फेरी छाडेको भोलिपल्ट थुक्क पालो त दिएको थिए त तिमीहरूलाई, औकात त छाडेर हिँड्ने न रहेछ, के गरेर हिँड्यौ भन्ने होलान् ।’ प्रधानमन्त्री कार्कीले गुनासो गरिन्।
उनले यो सरकार यसै गरी चलेमा तानासाह हुने बताइन।
‘पेण्डुलम जस्तो भयौँ तर धैर्य भएर काम गरिरहेको छौँ,’उनले भनिन्,‘निर्वाचन किन चाहियो भन्ने युवाको कुरा आएको छ, त्यो त संसारको नियम कानुन नै रहेछ । वैधानिकता र अवैधानिकताको कुराहरू रहेछन् । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ ।’
सो अवसरमा उनले सरकारकै कथा लेख्न कथा लेखन प्रतियोगितामा सहभागी ३० जनालाई अनुरोध गरिन् ।
‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौँ,’ उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले फेरी देशमा मारकाट भयो भने देश झन् खतरामा जाने बताउँदै संसदमा छानिएर आउने सांसदहरू इमान्दार भएर मुलुकलाई हाँक्ने खालको हुनुपर्ने धारणा राखिन् । मुलुकलाई माया गर्ने युवा शक्ति देशको नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ ।















