जेनजी आन्दोलनमा संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भयो : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि उनले सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा बोल्दै महासचिव पोखरेलले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको बताए ।
लाखौँ जनताको सहभागितासहित अत्यन्त उत्साहपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न सफल भएको उनको भनाइ थियो । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बन्द सत्र आज विधिवत् रूपमा समापन गरिएको उनले जानकारी दिए ।
महासचिव पोखरेलले पार्टीको सङ्गठनात्मक परम्पराबारे उल्लेख गर्दै दशौँ राष्ट्रिय महाधिवेशनदेखि नीति र विधि निर्माणका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन गर्ने अभ्यास सुरु गरिएको स्मरण गराए ।
उनले भने, ‘एमालेको ११ औँ महाधिवेशन हामीले भव्यताका साथ सम्पन्न गरेका छौँ । लाखौँ लाख जनताको सहभागितामा अत्यन्त उत्साहपूर्ण वातावरणमा ऐतिहासिक रुपमा सम्पन्न गर्न सफल भयौँ । ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र हामीले काठमाडौँको यही भृकुटीमण्डपमा आरम्भ गरेर आज विधिवत् रुपमा समापन गरेका छौँ । हामीले हाम्रो पार्टीको परम्परामा दशौं राष्ट्रिय महाधिवेशनको समयदेखि नीति र विधि निर्माण गर्नका लागि विधान महाधिवेशन नेतृत्व निर्वाचित गर्नका लागि राष्ट्रिय महाधिवेशनको परम्परा आरम्भ गरेका थियौँ।’
उनले पछिल्लो समय देशमा देखिएका घटनाप्रति पनि ध्यानाकर्षण गराए । गत भदौ २३ र २४ गते संविधान, लोकतन्त्र र राष्ट्रिय अस्मितामाथि नकारात्मक प्रभाव पार्ने खालका घटनाहरू भएको उल्लेख गर्दै उनले केही भ्रष्टाचार विरोधी, लोकतन्त्र विरोधी र गणतन्त्र विरोधी तत्त्वहरूले युवाहरूको भावना दुरुपयोग गरी मुलुकलाई हिंसात्मक बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए ।
उनले भने, ‘गत भदौ २३ र २४ गते नेपालमा नेपालको संविधान, लोकतन्त्र राष्ट्रको अस्मिता माथि नै नकारात्मक प्रभाव पार्ने घटनाहरू घट्न पुगे । हाम्रा नवयुवाहरूको भावनामा खेलेर भ्रष्ट विरोधी तत्त्वहरू, लोकतन्त्र विरोधी तत्त्वहरू, गणतन्त्र विरोधी तत्त्वहरूले मुलुकलाई हिंसात्मक बाटोतर्फ अग्रसर बनाउने काम गरे ।’















