भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् ।
बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन् ।
पाँच उपाध्यक्ष पदका लागि ११ जना, तीन उपमहासचिव पदका लागि ६ जना तथा नौ सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
सचिव पदमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, खगराज अधिकारी, अग्नि खरेललगायत उम्मेदवार छन् ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्द सत्रका रूपमा चलेको थियो ।
पटक–पटक सरेको निर्वाचन कार्यतालिकापछि अन्ततः पुस २ गते मतदान सम्पन्न भएको हो ।















