नेता कोइराला र सभापति देउवाबिच भेटघाट
काठमाडौं । आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ।
मंगलबार क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।
भेटमा कोइरालाले क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए ।
कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे ।
अनुशासन कारवाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे ।
२०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।














