पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु बन्न तयार छु : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।
कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा उठाउँदै आएपनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।
आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।
शनिबार प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग बिशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याउनु भएको योगदानको सधै उच्च कदर हुने बताए।
देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे।
‘सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ,’कोइरालाले भने,‘पार्टी भित्र मुल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।’
जिल्ला जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।














