देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन् भन्ने अवस्थामा पुगेको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरु सबै हुँदा पनि राज्यविहीन जस्तो अवस्थामा रहेको बताएका हुन् ।
उनले भने, ‘देश जटिल परिस्थितिमा छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यस्तो अवस्थालाई राज्य छ कि छैन् भनेजस्तो लाग्छ । दल छन्, देश छ, नेताहरु पनि छन्, राजनीतिक शक्तिहरु पनि छन् तर आज राज्य कहाँ छ, राज्य छ कि छैन् भन्ने अवस्था छ । यस्तो जटिल अवस्थामा तपाइँहरुले महाधिवेशन आयोजना गर्नु भएको छ ।’
यस्तै, उनले देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको भन्दै यसको जवाफ दिन जरुरी रहेको बताए ।
उनले भने, ‘आज नेपाल एउटा संकटमा उभिएको छ । हाम्रो देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको छ र हामीले यसको जवाफ दिनुपर्छ । कम्युनिष्टहरुले देशमा धेरै दुःख गरेका छन् अर्थात राजनीतिक शक्तिहरुले धेरै दुःख गरेका छन् ।’ थुप्रै प्रश्नहरुको बीचमा नेकपा एमाले रहेको भन्दै यसको जवाफ दिनुपर्ने पनि उनको भनाई छ ।














