रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौँ
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११ औँ महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन् ।
झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘यो महाधिवेशनले बहुसङ्ख्यक युवाहरूलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ । वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एक पटक विश्वास गरौँ ।’
उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढङ्गले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन् ।
‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ । नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढङ्गले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ । यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो ।’














