मधेश प्रदेशको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड
जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुनसक्ने संकेत गरेका छन् ।
शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समीकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको शुरुवात भएको बताए ।
मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको बताए ।
उनले नेपाली जनतामा रहेको वर्षौँदेखिको पीडा र विभेद अन्त्य गर्दै आत्मनिर्णयको अधिकारलाई साकार गर्न विभिन्न पार्टीमा छरिएर रहेका कम्युनिष्ट र समाजवादीहरू एक भएर नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।
कृषि क्रान्ति विना मधेशका साथै समग्र देशकै समृद्धि सम्भव नरहेको र दुखका साथ वैदेशिक रोजगारी जान बाध्य युवाहरूलाई मुलुकमा रोक्न नसक्ने भएकाले अबको क्रान्ति कृषि क्रान्तिको लागि हुनु पर्ने बताए ।
त्यस्तै एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको धारणा राखे ।
नेता खनालले २०६२÷६३को जनआन्दोलनले पूजावादी लोकतन्त्रको स्थापना गरेकोले वर्तमान व्यवस्थाबाट गरिब, सीमान्तकृत समुदाय झन् उपेक्षित हुँदै गएको बताए ।
उनले पूजावादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा परिणत गराउन नेपाली कम्युनिष्ट पार्टी अग्रपङ्क्ति रहेको दाबी समेत गरे । मुलुकमा व्याप्त विभेद, उत्पीडनको अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापनाको निमित्त नेपाली कम्युनिष्ट पार्टी सदैव लडी रहने बताए ।
एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालमा समाजवाद छिट्टै आउने र डंका बजाएरै आउने उल्लेख गरे ।
उनले राष्ट्रका लागि पूजावादी अर्थव्यवस्था वा साम्यवादी अर्थव्यवस्था उपयुक्त नरहेकाले समाजवादी व्यवस्थाको स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।
व्याप्त भ्रष्टाचार र बेतिथिका कारण मुलुकमा जेनजी विद्रोह भएको उल्लेख गर्दै सह संयोजक नेपालले जेनजीहरुको जायज मागलाई यथाशीघ्र सम्बोधन नगरिए पुनः अर्को विद्रोह हुन सक्ने बताए ।
उनले जेनजीको भरोसाको केन्द्र नै नेकपा बनेको दाबी गर्दै देशभरिका जेनजी युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै गएको बताए ।
उनले जेनजी जस्तै युवा, वृद्ध र महिला सबैलाई नेकपाप्रति विश्वास गर्न आग्रह समेत गरे ।
एकता सभामा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता, कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भएका थिए ।















