मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको बहालीसँगै स्थितिलाई सामान्यीकरण गर्न लागेको बताएका छन् ।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स्थितिलाई सामान्य बनाउन हर सम्भव प्रयास गरेको बताएका हुन् ।
उनले भने, ‘असामान्य स्थितिपछिको सरकार बनेकाले स्थितिलाई सामान्यीकरण गर्दै विधिको शासन बहाली गर्दै सुरक्षाको प्रत्याभूति दिनुपर्ने अवस्थामा छौँ । त्यो चरणबद्ध काम भएकाले सुरुको चरणमा स्थिति सामान्यीकरणमा लागेका हौँ,’ उनले थप भने, ‘चुनावलाई स्वतन्त्र र भयरहित त्यसको सुनिश्चितता नै सरकारको म्यान्डेट हो । निर्वाचन पहिलाको भन्दा अझ सुदृढ हुनुपर्छ भन्ने मान्यता हो । त्यसमा हामी सचेत छौँ ।’
उनले स्थितिलाई सामान्य बनाउन नसके द्वन्द्व दोहोरिने र राष्ट्रिय सुरक्षा चुनौती बढ्ने पनि बताए ।
‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौती नै हुनसक्ने भएकाले कुनै पनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन । सामान्य बनाउन हर सम्भव प्रयास गरेका हौँ,’ उनले भने ।
उनले सुशासन दिन नसके विद्रोह हुने भन्दै सुशासन सरकारको नियमित काम भएको समेत बताए । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारीको सम्बन्धमा छलफल गरिएको थियो ।













