गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् ।
बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेन्डा भनेको चुनाव मात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए ।
उनले भने,‘बाँकी मन्त्रालयहरूले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेन्डा भनेको चुनाव मात्र रहेछ । हाम्रो एजेन्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो ।’
गुरुङले देशलाई न्याय नभई वा आफुहरुलाई न्याय नभई चुनाव हुन नदिने बताए।
‘हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौँ । उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ । पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन् । मलाई त कहिले कहिले उहाँ(गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ ।’ गुरुङले भने।
उनले १०–१५ जना फ्याट्ट–फुट्ट छ्टिटा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरूले वडासम्मै समितिहरू बनाइसकेको दाबी गरे ।













