नयाँ पार्टीको घोषणाले सिङ्गो नेपाली राजनीतिमा एउटा तरङ्ग पैदा गर्नेछ : माधव नेपाल
काठमाडौं । नवनिर्मित पार्टी नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव नेपालले नयाँ पार्टीको घोषणाले सिङ्गो नेपाली राजनीतिमा एउटा तरङ्ग पैदा गर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिङ्गो नेपाली राजनीतिमा तरङ्ग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नयाँ पार्टीको घोषणाले सिङ्गो नेपाली राजनीतिमा एउटा तरङ्ग पैदा गर्ने मैले देखेको छु । कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गर्ने छ । हामी नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्ने छौँ । त्यसो हुनाले हाम्रो अग्नि परीक्षा अब सुरु हुनेछ । जनताले हामीलाई नियाली रहेका छन् । पुरानै पार्टीको नयाँ रूप हो वा नयाँ चरित्र बोकेको पार्टी बन्ने भनेको हो । जनताको मनमा यो जिज्ञासा रहेको छ । त्यस कारण हामीले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । यो पुरानै पार्टीको अर्को रूप होइन ।’
यस्तै, उनले आफूहरू सानो दायरामा बस्न नचाहेको भन्दै फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने प्रयासमा रहेको बताए ।
उनले भने, ‘हामी सानो दायरमा बस्न चाहँदैनौ, सङ्कीर्ण सोचका साथ अघि बढ्न चाहँदैनौ, आग्रह पूर्वाग्रह राखेर हिन्न पनि चाहँदैनौँ त्यस कारण हामी फराकिलो सोचका साथ देशका सबै सकारात्मक शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्न चाहन्छौँ । देशमाथि आघात गर्ने देशघातीहरु, विदेशीको दलाली गर्नेहरूसँग कुनै हिसाबले पनि सम्झौता गर्ने छैनौँ । साथै, संविधान र गणतन्त्रका विरोधी शक्तिहरूलाई पनि छोड्ने छैनौँ । यो पार्टीको मूल जिम्मेवारी देशभरका जनतासँग एकताबद्ध हुने हो ।’
उनले सुशासनको पक्षमा, भ्रष्टाचार विरुद्धमा र समाजमा रहेको विकृतिबारे सबै कुरामा हातमा हात मिलाएर सँगै अगाडि बढ्न जेनजी साथीहरूलाई पनि आह्वान गरेका छन् ।
उनले भने, ‘अब जेनजी साथीहरूलाई पनि भन्न चाहन्छु आउनु हामीसँग हातेमालो गर्दै अगाडि बढ्नु, सुशासनको पक्षमा, भ्रष्टाचार विरुद्धको लडाई होस् वा जनताको जीवन परिवर्तन गर्ने कुरा होस् वा समाजमा रहेको विकृतिबारे सबै कुरामा तपाईँहरूसँग हातमा हात मिलाएर सँगै अगाडि बढ्न चाहन्छौँ ।’
पहिला पनि ९ जना शीर्ष नेताहरू मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको भन्दै अहिले पनि ९ जना शीर्ष नेताहरूमध्ये ५ जना यही पार्टीमा जोडिएको हुनाले मूल पार्टी यही भएको उनको भनाई छ ।
उनले भने, ‘नेकपाकालको ९ जनाको सचिवालयको ९ जना शीर्ष नेताहरूमध्ये ५ जना यही पार्टीमा जोडिनु भएको छ त्यस कारण मूल पार्टी यही भएको छ । विगतमा हामीले गरेको एकता र एकताको प्रयासमा विफल भएको अनुभव सबैको आधारमा पनि हामीले समीक्षा गरिरहेका छौँ । प्रत्येक घटकका साथीहरूलाई अपमान नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ र यस कुरमा हामी उदार भएर अघि बढ्छौँ ।’












