अरू कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू देश छोडेर जान तयार भएको बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरू कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको बताएका हुन् ।
‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफ्नो क्षमताले भ्याए सम्म मैले पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईँहरूले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु । यो देश कसैले बनाउँछ भने म जान तयार छु । तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई फर्काइदियोस् । फर्कने वातावरण बनोस्,’ उनले भने ।
त्यस्तै उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।
‘ल हिजो जे भयो–भयो, आफैँले बाटो बिर्सियौँ । सबैले भुल्यौँ । अब त कमसेकम देश जोगाऊँ, त्यो भुङ्ग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔँ,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ,’ उनले भने ।














