निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर भएर लाग्नुपर्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
बुधबार बिहान जनकपुर विमानस्थलमा सञ्चारकमीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले सरकारले हिजो संसदीय दलहरूसँग वार्ता गरेकोले सरकार बिस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभास भएको बताए । तर अझै पनि निर्वाचनको वातावरण भने नबनेको महशुस भएको उनले बताए ।
असाधारण परिस्थितिमा अन्तरिम सरकारले निर्वाचन हुनुपर्छ भनेदेखि नेकपा माओवादी पार्टीले सबैभन्दा पहिला केन्द्रिय समितिको बैठक बसेर निर्वाचनमा जाने निर्णय गरेको संयोजक प्रचण्डले जनाए ।
उनले जेनजी आन्दोलन पछि सार्वजनिक रुपमा अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र मात्र भएको बताए । उनले राजधानी बाहिर मधेशमा आएर खुला रुपमा कार्यक्रम गर्ने पनि नेकपा माओवादी केन्द्र पहिलो पार्टी भएको जानकारी दिए ।
संयोजक प्रचण्डले समाजवादी मोर्चामा भएका पार्टीहरू एकता प्रक्रियामा अगाडि बढेकोले छठ पर्व पछि नयाँ परिस्थिति हेर्न सकिने जानकारी दिए ।
प्रचण्ड आज महोत्तरीमा हुने एक कार्यक्रममा सहभागी हुन आएका हुन् ।












