‘जेनजी आन्दोलनमा प्रश्नोत्तर जलेका सीटीईभीटीका विद्यार्थीहरूको पुन परीक्षा गराउने’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजी आन्दोलनमा प्रश्नोत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरूको पुन परीक्षा गराउने बताएका छन् ।
सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परीक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झन्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।
उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटी सम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तिको जेनजी आन्दोलनमा सीटीईभीटीको जुन विद्यार्थीहरूको छन् उनीहरूको प्रश्नोत्तरको कपि जलेको हुनाले जस जसको कापी जलेको छ । ती विद्यार्थीहरूको पुन परीक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्यो परीक्षा सहज तरिकाले लिने कुरा भएको छ । परीक्षा फेरि लिने भन्ने निर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्यो । कपि जलेकाहरूको फेरि परीक्षा लिँदा झन्डै झन्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च आउने भएको छ ।’
यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरू परेको भन्दै त्यो निवेदनहरूलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।
उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यस कारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरू परेको र त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरूलाई २ महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेर टुङ्गाउने भन्ने कुरा पनि भएको छ ।’
वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्या हुने भन्दै त्यही कारण माध्यमिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटर विषय थप्ने कुरा भएको पनि उनको भनाई छ ।








