सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमणबाट जोगायौँ

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो ।
सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन् । सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न सकेको छैन ।
आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
यसै गरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदी बन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन ः नियन्त्रणमा लिइसकेको छ ।
यसै गरी नेपाली सेनाले जेनजी प्रदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिन र पेट्रोल लिएका प्रदर्शनकारीलाई सेनाले रोकेको सहायक रथी मनोज थापाले बताए ।
उनले भने, ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन र पेट्रोल लिएर आएकाहरूलाई हामीले रोक्यौँ, विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धूमिल हुने थियो ।’
जेनजी आन्दोलनमा ६१ भिआइपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ ।