विशेष महाधिवेशनले नयाँ पुस्तालाई समेट्न सक्दैन : मोहन बस्नेत

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठक अघि संचारकर्मीहरुसँग कुराकानी गर्दै विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव मात्र हुने, त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउने भएकाले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताए ।
उनले भने, ‘युवा पुस्ता भनेर व्यक्ति केन्द्रित हुनु भएन् । मैँले मेरो जिल्लामा २९ वर्षको युवालाई प्रदेश सभाको टिकट दिलाएर चुनाव जिताएर आएको मान्छे हुँ । युवा मात्र होइन, महिलाको कुरा पनि आउँछ । प्रदेशभर दुई जना महिलाले चुनाव जित्नु भएको छ । त्यसैले मैँले भन्न खोजेको के हो भने युवा वा पुस्तान्तरणको कुरा गर्ने अनि विशेष महाधिवेशन भनिरहेका छौँ । विधानले विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिको पदाधिकारी र सदस्यको चुनाव मात्र हुन्छ । त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउँछन् । त्यसैले यति बेला विशेष महाधिवेशन युवा पुस्ताको लागि छदै छैन् । र यो प्रजातान्त्रिक पनि छैन् ।’
यस्तै, उनले विवाद टुङ्गाएर सकेसम्म यही मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने बताए । सम्भव नभए कति महिना थप्न पर्छ थपेर नयाँ पुस्तालाई सबैलाई समेटेर नियमित महाधिवेशनका गरेर नेतृत्व चयन गरिनुपर्ने बताए ।
उनले भने, ‘नियमित महाधिवेशनको प्रक्रियामा जानुपर्छ । नियमित महाधिवेशन गर्नको लागि जो जो पदाधिकारी अहिले विशेष महाधिवेशन भनेर कराई रहनुभएको छ उहाँ मध्य नै एक जनालाई क्रियाशील सदस्यता छानबिन एवम् व्यवस्थापन र अधिवेशनमा जानको लागि तयारी गर्ने प्रक्रियामा जाने गरी संयोजक बनाएको छ । त्यसैले क्रियाशीलताको विवाद टुङ्गाएर मंसिरमा नियमित महाधिवेशन गरौँ भन्न चाहन्छु । यदि सकिँदैन भने कति महिना थप्न पर्छ थपौँ । तर नयाँ पुस्तालाई सबैलाई समेटेर नियमित महाधिवेशनका गरेर नेतृत्व छानौँ ।’