निर्वाचन हुनेमा विश्वस्त छन् युवा तर माहौल चुनाव केन्द्रित छैन् !

Getting your Trinity Audio player ready...
|
आंकाक्षा धामी
काठमाडौं । जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।
भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा निर्वाचन गराइछाड्ने अठोट समेत लिएकी छन् । यता, निर्वाचन आयोगले पनि घोषित प्रतिनिधिसभाको चुनावसम्बन्धी कार्य तालिका सार्वजनिक गरेर काम थालेको जनाएको छ ।
अध्यादेशमार्फत ऐनमा संशोधन गरिएपछि आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ । चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको थियो ।
कार्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ । विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिक मतदान गर्न पाउने छन्। निर्वाचनको तालिका नै तयार भएर काम सुरु भए पनि मुख्य दलहरूसँग सरकारले संवाद सुरु नगर्दा संशय पैदा भएको छ ।
नयाँ मतदाता नामावली सूचिमा आफ्नो नाम दर्ता गराउन निर्वाचन आयोगको सम्बन्धित कार्यालयहरूमा छिटपुट मात्र युवाहरूको उपस्थिति देखिन्छ । चुनाव हुने वा नहुने अन्योलमा रहेकाले आयोगका कार्यालयहरूमा नयाँ नाम दर्ता गराउनेहरूको उल्लेख्य उपस्थिति देखिदैन् ।
अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने भए पनि त्यसपछिको प्रक्रियाका लागि कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिनका लागि युवाहरूको उपस्थिति उल्लेख्य देखिएको छैन् ।
आइतबार ललितपुरस्थित निर्वाचन आयोगको कार्यालयमा नेपाल न्यूज बैंकको टोली पुग्दा न्यून संख्यामा मात्र युवाहरू नाम दर्ताका लागि उपस्थित थिए । त्यसमध्येका नाम दर्ता गराउन पुगेका खोटाङका मिसन कार्की निर्वाचन हुनेमा विश्वस्त छन् ।
‘मेरो घर खोटाङ हो । बायोमेट्रिकका लागि आएको छु । पहिलो पटक भोट दिने तयारीमा छु । निर्वाचन हुन्छ भन्ने कुरामा विश्वस्त छु र हुनु पनि पर्छ,’ उनले भने ।
जेनजी आन्दोलनको उपलब्धि पनि निर्वाचन गराउनु भएको भन्दै उनले भने, ‘अब देशको नेतृत्व भिजनरि भएको जेनजी नै आउनु पर्छ । विदेशमा बस्ने नेपालीहरूले भोट हाल्न पाउनुपर्छ । त्यसका लागि आवश्यक कागजात मिलाउनुपर्छ । सबै कागजात मिल्यो भने सबेले भोट हाल्न पाउँछन् । मतको सही सदुपयोग हुनुपर्छ । त्यसका लागि हामी गाउँ गाउँमा गएर सबैलाई सचेत बनाउन सक्नुपर्छ । परिवर्तनको सुरुवात हामी बाटै हुनुपर्छ । जेनजी अगाडि आउनुपर्छ ।’
पहिलो पटक नाम दर्ता गराउन पुगेका पाटनका विशेष जोशी निर्वाचन हुनेमा विश्वस्त छन् । उनी अबको नेतृत्व युवा पुस्ताले नै लिनुपर्नेमा जोड दिन्छन् । ‘अबको नेतृत्व भनेको युवा पुस्ताले लिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । राम्रो मान्छे अगाडि आउनुपर्छ ।’
(नेपाल न्यूज बैंक)