बालेन र सदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

Getting your Trinity Audio player ready...
|
सर्लाही । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध अनेरास्ववियु र युवा संघ सर्लाहीले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो ।
जाहेरी बुझाएपछि अध्यक्ष खडकाले भने, ‘हामीले औपचारिक रूपमा जाहेरी दर्ता गराएका छौँ यदि कानुनी प्रक्रिया अघि बढेन भने न्यायिक मार्गबाट अगाडि बढ्नेछौँ ।’ सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सचिव समिम बाबु पठानले पछिल्ला घटनाहरूले संगठनको गम्भीर ध्यानाकर्षण गराएको बताए ।
उनका अनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत हुङ्कारका आधारमा राज्यको संयन्त्र सञ्चालन हुन नहुने बताउँदै उनले भने, ‘विधिको शासन सबैभन्दा माथि हुनुपर्छ । सरकारी कार्यालयमा जबरजस्ती प्रवेश गरी आदेश दिने प्रवृत्ति सह्य हुँदैन । दलीय राजनीति बाहिरको नाममा हुकुमी शासन चलाउनु स्वीकार्य होइन ।’
अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन् ।