नौ बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय
काठमाडौं । नेपाली कांग्रेसका जेनजी युवाहरूले नौ बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरू समेट्न माग गरेका छन् ।
नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरूपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरूले कांग्रेसलाई सुझाव दिएका हुन् ।
आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न हामी प्रतिबद्ध छौँ । सँगै, आफू आबद्ध रहेको दल, संस्था या समूहमा बदलिएको समय अनुरूपको बदलाव अत्यावश्यक छ त्यस कारण, हामी विनम्रतापूर्वक अपिल गर्दछौँ– ‘सबै बदलिऔँ, सबै मिलेर देश बदलौँ ।’
पूरानै शैली र पूरानै प्रवृत्तिबाट नेतृत्व गर्न नसक्ने भन्दै प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी रहेको युवाहरूको भनाई छ ।
‘पूरानै शैली र पूरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन । अतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ । हामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समूहहरूको शैलीमा परिवर्तन जरुरी छ । हरेकको चरित्रमा र समयको चित्रमा जबरजस्त परिवर्तन जरुरी छ,’ अपिल पत्रमा उल्लेख गरिएको छ ।
यस्ता छन् ऐक्यबद्ध सुझाव र मागहरू:
१) मुलुकमा सुशासनको स्थापना जेनजी प्रदर्शनको मूलतः मुख्य माग थियो । नेपाली काँग्रेसले आफैँ भित्र पनि ‘आन्तरिक सुशासन आयोग’ गठन गरोस् । जसले तिनै तहको सरकारमा गएका प्रतिनिधिको विगतका प्रवृत्ति समीक्षासँगै भविष्यमा जाने प्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्न सकोस् ।
२) नेपाली काँग्रेसले भदौ २३ गते नयाँ बानेश्वरको प्रदर्शनमा अत्याधिक बल प्रयोगको घटनाको गहिरो छानबिन र दोषीलाई कडा कारबाही गर्ने भनी गरिसकेको निर्णयमा प्रष्ट ढङ्गले पार्टी उभियोस् ।
३) भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा सामेल जो कोही हुन्, दोषीलाई कारबाहीको दायरामा ल्याइनु पर्छ यसो गर्नु भनेको, ‘निर्दोषलाई आरोपबाट मुक्तिको अवसर हो’ भनेर बुझाउन जरुरी छ । त्यो बुझाऔँ ।
४) भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली काँग्रेसको प्रष्ट प्रतिबद्धता र सहयोग रहनुपर्दछ ।
५) नियमित या विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनैतिक दलबाट आधुनिक दलका रूपमा नयाँ ऊर्जाका साथ अघि बढ्ने रोड म्याप नेपाली काँग्रेसले सार्वजनिक गर्नुपर्छ ।
६) काँग्रेस पार्टीको यौवन फर्काउन – आसन्न केन्द्रीय समितिको बैठकले विधानमा संशोधनको ढोका खोलेर पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत हाम्रो उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गरिनुपर्छ ।
७) फाल्गुण २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउने र निर्वाचन मार्फत लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा नेपाली काँग्रेस अग्रसर हुनुपर्दछ ।
८) जेनजी आन्दोलनको ताजा हुटहुटीलाई संस्थागत गर्दै फागुन २१ को निर्वाचनलाई मतदान सङ्ख्याका हिसाबले ऐतिहासिक निर्वाचन सुनिश्चित गर्न कांग्रेसले नवयुवा तथा आम नागरिकहरूलाई मतदाता दर्ता गराउनका निमित्त भोट रेडी नेपाल अभियान सञ्चालन गर्ने निर्णय गरोस्।
९) कांग्रेसमा नवयुवा जोड्ने नर्सरीका रूपमा रहेका नेपाल विद्यार्थी संघ लगायतका भातृ संस्थाहरूलाई पुनः परिकल्पना र पुनः संरचना गर्न अपरिहार्य छ। यस विषयमा यथेष्ट छलफल गरी आवश्यक अध्ययनका लागि कार्यदल गठन गर्न विनम्र अनुरोध गर्दछौँ।
सप्रेम,
विकल राई, खोटाङ, २५
साजन योञ्जन, सिन्धुपाल्चोक, २६
विनोद राज जोशी, दार्चुला, २५
करुणा कटुवाल, धनकुटा, २५
श्रीकृष्ण भट्टराई, रुपन्देहि, २८
दिनेश चौधरी, बर्दिया, २८
मनोज पुरि, काठमाडौं, २६
मञ्जु विश्वकर्मा, कपिल्वस्तु, २७
करिना पुरि, सिन्धुपाल्चोक, २३
सिर्जना स्नेहि, बझाङ, २६
गौरव पाण्डे, बारा, २२
मुना नेपाली, पाँचथर, २६
विजय पुन मगर, जाजरकोट, २६
किरण तिवारी, रुपन्देहि, २७
नीलम कार्की, झापा, २५
सन्तोष भण्डारी, गुल्मि, २४
आशा नामजाली मगर, कैलाली, २४
दिपेन धिमाल, झापा, २७
सुशील गोदार, कास्की, २६
















