‘लोकतन्त्रको जग भत्काउने पूर्व सर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भङ्ग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्व सर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भङ्ग गर्ने पूर्व सर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन् ।
उनले भने,‘अहिले देशमा सरकार छ । तर संविधान अनुसार बनेको छैन् । बलमिच्याईले बनेको सरकार छ । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि सर्त राख्नुभयो । तुरुन्तै सपथग्रहण गरेर तुरुन्तै संसद भङ्ग गर्ने सिफारिस गर्छु त्यो लागू गर्नुपर्छ र संसद भङ्ग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु नत्र देशमा जेनजीले आगो बाल्छ भन्नुभयो । संसद भङ्ग गर्ने पूर्व सर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।’
त्यस्तै उनले अहिले देश र देशको सार्वभौमसत्तामाथि हमला भइरहेको धारणा राखे । अर्थतन्त्रमा बलियो होला भन्ने चिन्ताले हमला भइरहेको उनको ठम्याई छ ।
‘देश र देशको सार्वभौमसत्तामाथि हमला छ । देशको भौगोलिकता माथि हमला छ । देशको अर्थतन्त्र बलियो होला भन्ने चिन्ता छ कसैलाई, त्यस कारण पनि हमला भइरहेको छ,’उनले भने ।