गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔँ : नेपाली कांग्रेस

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरू र नागरिकलाई सजग रहन अपिल गरेको छ ।
गत वर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरूलाई मार नपर्ने गरी काम गर्न आव्हान गरेका छन् ।
‘सडक बन्द गरिँदा र बाढी पहिरोले सडक अवरुद्ध हुन पुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौँ, गराऔँ,’ पौडेलले अपिलमार्फत भनेका छन् ।
१७ असोज ०८२
प्रक्षेपित भारी वर्षाको प्रतिकुलतासँग जुध्न
सरकार,दलहरू र नागरिकलाई सजगताको अपिल
पोहोर असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेकै छ । गत भदौ २३ र २४ को घटनाले देश थप मर्माहत रहेको बेला फेरि बाढी पहिरोको ठुलै जोखिमको संकेत मौसम विज्ञान विभाग र विज्ञहरूले गरेका छन् । असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरू एवं सम्पूर्ण नागरिकमा
नेपाली काँग्रेस हार्दिक अपिल गर्दछ ।
पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता
१. दशैंको टीका लगाउन या लगाइसकेर गन्तव्यमा फर्किन लाखौँ नागरिक यति बेला सडक यात्रामा छन् । अतः मौसमको तीव्र प्रतिकुलता नजिकिएको सूचना प्रभावी रूपले सम्प्रेषण गरौँ ।
२. सरकार र सम्बद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित रहौँ, अरूलाई सुरक्षित बनाउन सुसूचित गरौँ ।
३. बाढी पहिरोको घोषित एवं सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थलतर्फ केही दिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासन मार्फत आवश्यक बन्दोबस्तको पहलकदमी गरौँ ।
४. पहाडी भूगोल र हाम्रा सडक मार्ग उसै पनि जोखिमपूर्ण छन्, अतः भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडक मार्ग निश्चित अवधिकालागी अनिवार्य बन्द गरौँ ।
५. सडक बन्द गरिँदा र बाढी पहिरोले सडक अवरुद्ध हुन पुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरू र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौँ, गराऔँ ।
६. विपद्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावी ढङ्गको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौँ ।
७. तत्कालीन प्रतिकुल स्थिति दृष्टिगत गरेर जोखिमका सम्भावित क्षेत्रहरूमा अन्य सबै कार्य केहिदिनलाई थाती राखेर ऐक्यबद्ध भएर चुनौती सामना गरौँ ।
सरकारले युद्ध स्तरमा सजगता र तयारी राखोस्, सम्भावित विपद् सामना गर्न जिम्मेवार ढङ्गले सबै जुटौँ । सरकार, दलहरू र सम्पूर्ण नेपालीमा नेपाली काँग्रेस हार्दिक आह्वान गर्दछ । साथै नेपाली काँग्रेसको सबै तहका साथीहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपद्सँग जुध्न स्वयंसेवी भावना साथ कार्य गर्न अपिल गर्दछ ।
जय नेपाल ।
कृष्णप्रसाद पौडेल
मुख्यसचिव