ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने जाँचबुझ आयोगको निर्णय
काठमाडौं । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल अनुसन्धानको दायरामा रहेको भन्दै उक्त निर्णय गरेको हो ।
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा उक्त व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नुहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
आयोगले भाद्र २३ र २४ गतेको घटनाहरूको छानबिन गरी प्रतिवेदन पेश गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने समेत निर्णय गरेको छ ।















