श्रीमती हुँदा कहिल्यै ग्लानि भएन, तर पेसामा आत्मग्लानि भयो’
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानिको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित महिला सरकारी वकिल सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।
‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानि भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानि भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’
भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको सङ्केतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।
‘अब हामी आएका छौँ । प्रधानन्यायाधीश महिला पाएका छौँ, राष्ट्रपति महिला पाएका छौँ, सभामुख महिला पाएका छौँ, महान्यायाधिवक्ता पनि महिला पाएका छौँ। यसमा हामी खुसी हुनुपर्छ,’ उनले भनिन् ।
महान्यायाधिवक्ता भण्डारीले सरकारी वकिल सेवा र न्यायिक इतिहासको सन्दर्भमा २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिदेखि सुरु भएको यात्रालाई स्मरण गर्दै उक्त सेवा सरकारको हकहितको संरक्षणमा महत्त्वपूर्ण रहँदै आएको बताइन् ।
‘आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छौँ । वि.स. २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तसँगै सुरु भएको यात्रा सात दशक लामो संस्थागत विकास र सरकारको हकहितको संरक्षणमा सरकारी वकिलले निर्वाह गरेको गौरवशाली योगदानलाई स्मरण गर्दै नयाँ ऊर्जा र आशाको सञ्चार गरेको छ,’ उनले भनिन्।
कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तीकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता, र नेतृत्व विकासका विविध पक्षमा छलफल भएको थियो ।












