‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए।
हालै खाडी मुलुकहरू, युरोप र अमेरिकाको भ्रमण गरेर नेपाल फर्किएका कुलमानले नेपालमा बत्तीको उज्यालो मात्रै नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका थिए।
उनले लाखौँ युवा विदेश पठाएर देशले उन्नति गर्न नसक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए। उनले देशमा निराशा व्याप्त रहेकोमा अब स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि उज्यालो नेपाल अभियान सुरु गरिएको जनाएका थिए।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कार्यकाल पुरा हुन चार महिना मात्रै बाँकी रहँदा पदबाट बर्खास्त गरिए पछि विदेश भ्रमणमा निस्किएका कुलमानलाई प्रवासी नेपालीका संघसंस्थाहरुले नागरिक अभिनन्दन तथा सम्मान गर्दै नेपालको रूपान्तरणमा अगाडी बढ्न आग्रह गरेका थिए।
यसै बीच काठमाडौँ महानगरका मेयर बालेन शाहले २८ वर्षभन्दा कम उमेरका जेन जी पुस्ताका युवाहरूले आह्वान गरेको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन्। उनले आफू उमेर हदबन्दीका कारण र्यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। विभिन्न संघसंस्था तथा दलहरूले पनि उक्त आन्दोलनप्रति समर्थन जनाएका छन्।