बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निर्माण गरिने
|
Getting your Trinity Audio player ready...
|
बाजुरा । बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडी मालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा (एडिबी)को सहयोगमा पदमार्ग निर्माण गर्ने भएको हो ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गर्न लागेको हो ।
प्रदेश सरकारले एडिबीसँगको सम्झौता अनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निर्माण गर्ने भएको हो । एसियाली विकास बैंकको २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
बडिमालिका र खप्तड जोड्ने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा सात करोड बजेट आएको छ । गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्राम गृह निमार्ण गरिएको थियो ।
धार्मिक आस्थाको धरोहर बडी मालिकामा हरेक वर्ष साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने गरेको छ । बडीमालिका प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ ।








