पाँच पोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै

रामेछाप । जनै पूर्णिमाको अवसर पारेर रामेछापको पाँच पोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउने क्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्दछ ।
जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने भए पनि त्यसअघि र पछि पनि दर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगा गाउँपालिकाका पूर्व अध्यक्ष खड्ग सुनुवारले जानकारी दिए । उनका अनुसार हरेक वर्ष असारदेखि भदौसम्म यहाँ १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्दछन् ।
४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँच पोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमा असोजपछि जाडो बढ्ने भएकाले मानिसहरू पुग्दैनन् । यी दुवै पोखरी गोकुलगंगा गाउँपालिका–१ चचुरेमा पर्छन् ।
यहाँ पुग्न गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिवालय र गर्जाङ हुँदै तथा दोलखाको जिरी–माली हुँदै शिवालय निस्किएर जान सकिन्छ । साथै, रामेछापको उमा कुण्ड गाउँपालिकाको गुम्देलबाट पनि यहाँ पुग्न सकिन्छ ।
उच्च पहाडी क्षेत्रमा अवस्थित रमणीय प्रकृतिको आनन्द लिँदै यात्रुहरू पहिले जटापोखरी पुग्छन् । त्यहाँबाट करिब ४५ मिनेटको पैदल यात्रापछि पाँच पोखरी पुगिन्छ । बाटोमा उच्च पहाडी हावापानी, वनस्पति, जडीबुटी र झरनाले यात्रुहरूको मन लोभ्याउँछ ।
रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, भक्तपुर, काठमाडौं र तराईका विभिन्न जिल्लाबाट मात्र नभई भारतको सिक्किमबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । हाल फाट्टफुट्ट तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन् ।
सडक मार्ग छाडेर एक दिनको पैदल यात्रापछि जटापोखरी पुगिन्छ, जहाँ बाटोमा पर्ने चौर गोठहरूमा खानपान र बासको सुविधा उपलब्ध हुन्छ ।