राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको वान टु वान भेटवार्ता सकिएको छ । आइतबार च्यासल पार्टी कार्यालयमा भएको भेटवार्ता सकिएको हो ।
उक्त भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताइन् । साथै उनले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने जिकिर गरिन् ।
उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पार्टी सदस्यता पहिले नै भइसकेको छ । आज राष्ट्रिय राजनीतिक विषयमा मात्र कुराकानी भयो अरू विषय आधिकारिक च्यानलबाट आउँछ ।’
भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरङ्गित बनेको छ । हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।