कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिङ्गो पार्टीले नबोक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए ।
उनले भने, नागरिकको असन्तुष्टिलाई हामीले मान्नुपर्छ । जनताले नेताहरूले आफ्नो स्वार्थको लागि मात्र सोचे घुस खाए । एउटा महामन्त्री अथवा कोही व्यक्तिले गल्ती गरे सारा पार्टीले गाली खानुपर्छ । भारी बोक्नुपर्छ । भ्रष्टाचार गरे भन्ने छ । भ्रष्टाचार गर्ने जति पनि कुरा आउँछ त्यसमा कुनै पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ । यसमा कांग्रेसले कोहीसँग सम्झौता गर्दैन । व्यक्ति चुक्न सक्ला कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ । ठिक ढङ्गले पार्टीलाई प्रस्तुत गर्न सक्नुपर्छ ।’
त्यस्तै उनले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने दाबी समेत गरे ।
उनले भने, कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन् । सबै गर्दा १२ लाख छन् । पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर अन्तिममा काठमाडौँमा पाँच हजार प्रतिनिधिबाट महाधिवेशन गर्छौँ । १२ लाख मान्छेलाई बुथमा निकाल्छौँ, उसलाई अधिवेशनमा टिक लगाउन दिन्छौँ भने प्रविधिको जमानामा त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न । जसले गुट बनायो त्यो ध्वस्त भन्यो भनौँ न ।’