बालबालिकाले गरे मन्दिरको सरसफाइ

Getting your Trinity Audio player ready...
|
काठमाडौँ / प्रायः जुन ५ मा मनाइने वातावरण दिवसमा बिरुवा रोपेर मनाउने परम्परा रहे पनि, यस वर्ष इलियन मेमोरियल स्कुलले विद्यार्थीहरूलाई सरसफाइप्रति सक्रिय गराउने उद्देश्यका साथ यो विशेष कार्यक्रम आयोजना गरेको हो।
यस अभियानमा कक्षा ५ भन्दा माथिका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
विश्व वातावरण दिवसको अवसरमा, नागार्जुन नगरपालिका वडा नम्बर ५ मा अवस्थित इलियन मेमोरियल स्कुलका विद्यार्थीहरूले आदिश्वर मन्दिर,सीतापाइला मन्दिर र इचंगु नारायण मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेका छन्।
विद्यालयका प्रिन्सिपल जयराम चापागाईँका अनुसार, यस्ता कार्यक्रमहरूले बालबालिकाहरूमा टोलीमा काम गर्ने बानीको विकास हुनुका साथै उनीहरूलाई धार्मिक सम्पदाको संरक्षणमा जुट्न पनि प्रोत्साहन मिल्ने बताए।

विद्यार्थीहरूले उत्साहपूर्वक मन्दिर परिसरमा फोहोर सङ्कलन गरी सरसफाईमा जुटेका थिए। उनीहरूले झाडु लगाएर र फोहोरका झोलाहरूमा सङ्कलन गरेर मन्दिर क्षेत्रलाई सफा र सुन्दर बनाएका थिए।

यस सरसफाइ अभियानले वातावरण संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागितालाई जोड दिएको छ। साथै, यसले विद्यार्थीहरूलाई आफ्नो समुदायप्रति जिम्मेवार बनाउन र धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्त्व बुझाउन मद्दत पुर्याएको छ। इलियन मेमोरियल स्कुलको यो पहल अन्य विद्यालय र समुदायका लागि पनि प्रेरणादायी बन्न सक्ने देखिन्छ।