जनतामा अहिले निकै ठूलो आक्रोश छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौँ ।’
यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोश रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए ।
उनले भने, ‘अपारदर्शी र अलोकतान्त्रिक तरिकाले संविधान मिचेर अहिलेको सरकार बनेको छ । त्यस कारण जनतामा अहिले निकै ठूलो आक्रोश छ । असन्तुष्टि छ, सडकमा जनता विभिन्न रुपमा उत्री रहेका छन् । शिक्षक, डाक्टर, नर्स सबै आन्दोलनमा छन् । सरकारमा भएका बाहेकका पार्टी पनि सडकमा नै छन् । यो अवस्थामा हामीले देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नु छ ।’
पार्टी केन्द्रीय सदस्य रामकुमार राईको संयोजनमा केन्द्रीय कार्यालय पेरिसडाडामा राखिएको पार्टी प्रवेशमा सय जना प्रवेश भएका छन् ।